‘बिबिसी शो’का चर्चित मास्टर सेफ सन्तोष साह नेपालमा, भन्छन- खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ

रासस

काठमाडाै‌ं
Photo : santosh shaha facebook
Photo : santosh shaha facebook

नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ।

मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन्। ति नै मध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए। पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ।

विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए। कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा। उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भुमिका खेले।

“नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ। विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छु”, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक नेपाल आएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए। बेलायतमा छिट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेष्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए। उनी भन्छन्, “मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ। जब म ‘प्लाष्टिकको झोला बेच्दथे र पाउरोटी बेच्थेँ त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु।”

अहिले जतिपनि सेफहरू छन्, उनीहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफुले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए।

“नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुदैन। खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ”, उनले अगाडि भने, “हाम्रो ‘फुड इन हाइजिन’ छैन”, चिसो खाना नखानू र बोतलबिनाको पानी नपिउनु भन्ने हाम्रो सन्देश हो। चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ। मेरा जति साथी छन् तीनलाई तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ। विदेशीका लागि यो गुणस्तर कायम गर्नैपर्छ।”

एउटा सामान्य नेपालीको छोरो यति ठुलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन। देशभित्र भान्से र खानाका लागि मान्यतै छैन। यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागी सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए।

उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए।

उनले भने “अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ।”

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ। साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दैछन्। चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ।

पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए। खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-25 16:59:00

प्रतिकृया दिनुहोस्