किसानको रोजाइ जडीबुटी खेती मेन्था 

रासस

कैलाली

कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ।

धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन्। मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन्।

गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थालेका छन्।

“दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो। यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ”, रमेशले भने।

रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताए।

“यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन”, बेल्बासे भन्छन्, “मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन्। यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ। जडीबुटी खेती गरेमा फाइदा धेरै छन्।”

प्रकाशित मिति: : 2021-02-26 07:49:00

प्रतिकृया दिनुहोस्