प्रतीक्षा सर्वोच्चको अर्को फैसलाको : ओली र प्रचण्ड–माधवसँग ‘नेकपा’ नै नरहने खतरा !

ऋषि कट्टेलको नाममा ‘नेकपा’ सदर भए के हुन्छ ?

रातोपाटी

काठमाडौं

सर्वोच्च अदालतले यही फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दैछ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउने क्रममा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यसअघि उनले निर्वाचन आयोगमा आफ्नो पार्टीसँग नाम जुध्ने गरी अर्को दल दर्ता गरेको भनेर उजुरी गरेका थिए तर आयोगले कार्तिक ९ गते खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए।

अदालतमा विचाराधीन सो मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुन लागेको हो। रिट दायर गरेको झन्डै साढे २ वर्षपछि सर्वोच्चले फैसला गर्न लागेको यो मुद्दाको खास अर्थ रहेको छ।

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्कोतिर रहेर नेकपाको आधिकारिकता आफ्नो पक्षमा दावी गरिरहेका छन्। यसबारेको विवाद निर्वाचन आयोगले टुङ्ग्याउन सकेको छैन।

यदी २० गतेको फैसला ऋषि कट्टेलको पक्षमा भयो भने ओली तथा प्रचण्ड नेपाल पक्षले छुट्टै दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ।

उनीहरुको स्वामित्वमा नेकपा नै नरहेपछि उनीहरु कि नयाँ दल दर्ता गर्ने वा पुरानै दलमा फर्कनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2021-02-26 17:11:00

प्रतिकृया दिनुहोस्