आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलले सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज भेटी पछिल्लो समय आमपाठक\स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गरेकाे छ।

सो अवसरमा  अध्यक्ष तिमिल्सिनाले आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरे। 

सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उनीसँग भेटवार्ता गरेको हो।

सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल सङ्घले आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ। 

सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीतिनिर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिए। 

मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने सङ्घको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिए।  

सङ्घका अध्यक्ष पहाडीले सरकारी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्ने तथा दलित समुदायद्वारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुटका साथै त्यस्ता सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने माग गरे।

देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घमा देशभरका दुई हजारबन्दा बढी दलित समुदायका पत्रकार आबद्ध छन्।  सङ्घको हालसम्म ६० जिल्ला शाखा, सात प्रदेश र काठमाडौँ उपत्यका  समिति छन्। रासस 

प्रकाशित मिति: : 2021-02-26 17:30:00

प्रतिकृया दिनुहोस्