लागुऔषधको जालो भत्काउँदै प्रहरी

बिएल संवाददाता

महेन्द्रनगर

दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ।

खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ।

पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेपछि लागुऔषध कारोवारको जालो भत्काउन प्रहरी सफलतातर्फ उन्मुख देखिएको छ।

डेढ महिनामा लागुऔषध कारोवार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले ठूलो परिणाममा पक्राउ परेका लागुऔषध कारोवार गर्ने गिरोका भारतीय र नेपाली युवकलाई पक्राउलाई आफ्नो सफलता मानेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ।

लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र यहाँका विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ। डेढ महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले लागुऔषध कारोवारमा सक्रिय ठूला गिरोहमाथि अत्यधिक निगरानी बढाइएको बताए।। रासस

प्रकाशित मिति: : 2021-03-01 07:27:00

प्रतिकृया दिनुहोस्