कपाल काटेर लखपति बने उर्लाबारीका पवन

तेजन खड्का

उर्लाबारी

‘पवन हेयर सैलुन’ मोरङ, उर्लाबारीको यो निकै चर्चित सैलुन हो।

 यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन। 

उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बनेका छन।

उर्लाबारी मात्र होइन, दमक, पथरी र रतुवामाईबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उनको पसलमा। 

यो सैलुन चलाउने युवा हुन, उर्लाबारी–४ का पवनदेव ठाकुर। 

चौध वर्षअघि आफ्नो गोजीमा भएको पाँच सयबाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय शुरु गरेका उनले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसकेका छन। 

तीन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोलेका पवन अहिले काम भएन भनेर विदेशिने युवाका लागि पनि गतिलो उदाहरण बनेका छन। 

शुरुमा पढ्न नसकेर कपाल काट्न सिकेका उनले मनग्य कमाएनन मात्रै, आफ्ना भाइहरु अनि गाउँका अरु युवालाई पनि रोजगारी दिइरहेका छन। 

उनको सैलुनमा पाँचजनाले कपाल काट्ने काम गर्छन्। तर पनि कुर्सी एक छिन पनि खाली हुँदैन, कैँची चलाउन व्यस्त उनलाई कसैलाई हेर्ने पनि फुर्सद थिएन। ‘पालै दिन मुस्किल हुन्छ, ग्राहक फोन गरेर आउनुहुन्छ’, कपाल काट्न निक्कै सिपालु पवनले भने। 

हुन पनि त्यहाँ पालो नपाए बरु केही दिन कुर्छन् ग्राहक। तर त्यहाँ कपाल काटिरहेकाहरू सितिमिति अन्यत्र जाँदैनन्। उनलाई काम सानो ठूलो लाग्दैन। 

उनी भन्छन, ‘काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ।’ 

‘पहिले मलाई गिज्याउने धेरै थिए’, शुरुवाती दिन पवनले सम्झिए—‘तर उहाँहरु नै अहिले मेरो गुणगान गर्नुहुन्छ बरु, ‘क्या प्रगति गरिस् भन्नुहुन्छ।’

सैलुनमा भेटिएका मोरङ उर्लाबारीका श्याम लिम्बूले पवनको कपाल कटाइ राम्रो लाग्ने बताएका छन्। 

‘पवनबाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन’ उनले भने।

आजभोलि उनले दैनिक रु दुई हजारदेखि रु तीन हजारको हाराहारीमा कमाँउछन। 

उनलाई बिहान ६ देखि राति ८ बजेसम्म पनि खाना खाने फुर्सदै हुँदैन। कामैमा हुन्छन्, पवन। 

अहिले थुप्रै संघसंस्था पनि उनलाई कपाल काट्ने तालीम दिनुप¥यो भन्दै माग गरिरहेका छन्। 

‘तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन, उनले भने, ‘यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहक झगडै गर्छन्।’

उनले केहीँलाई भने आफ्नै सैलुनमा तालीम दिएका छन। जो सैलुन पसल खोलेर बसेका छन्। ‘आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा सन्तोष लाग्छ’ उनले भने।
 

प्रकाशित मिति: : 2021-03-01 17:39:00

प्रतिकृया दिनुहोस्