पहिलोपल्ट अदालतमा देखिइन् आङ सान सु की

निर्मल खराल

माेगाेक (म्यान्मार)
Photo - RFA Burmese
Photo - RFA Burmese

प्रजातन्त्रवादी नेत्री आङ सान सु की सोमबार अदालत परिसरमा देखा परेकी छन्। म्यान्मार जुन्ता सरकारले नियन्त्रणमा लिएपछि पहिलोपल्ट उनी अदालतमा देखिएकी हुन्। 

उनीलगायत थ्रुपै नेताहरूको रिहाईको मागमा देशव्यापी जनप्रदर्शन जारी छ। आइतबारको सैन्य 'कू'विरूद्धको हिंसात्मक प्रदर्शनमा १८ जना प्रजातन्त्रवादी नागरिक सुरक्षाकर्मीको निशाना बने। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर उनीहरूले ज्यान गुमाएको ऐरावती पत्रिकाले जनाएको छ। 

म्यान्माली जनताले सैन्य नजरबन्दमा रहेका आफ्ना नेताहरूलाई रिहा गर्न पटकपटक आह्वान गरिरहेका छन्। अहिलेसम्म देशभर कम्तिमा २४ जनाले ज्यान गुमाएका छन्। आइतबारको प्रदर्शन जुन्ता शासक लागू भएयताको सबैभन्दा रक्तपातपूर्ण मानिन्छ।

रक्तपातपूर्ण आन्दोलनको अर्कोदिन ७५ वर्षीय नेत्री सु की राजधानी नेपिदोस्थित अदालमा देखिएकी हुन्। उनीमाथि अदालतमा गरिएको सुनुवाईमा थप दुई आरोप सामना गर्नुपरेको छ। 

यसअघि उनीविरूद्ध कोरोनाभाइरस नियम तोड्दै प्राकृतिक प्रकोप कानूनको उल्लंघन गरेको र अवैध संचार जडान गरेको आरोप यथावत् छ। 



म्यान्मारः सैन्य शासकको दमनपछि सुनसान रंगुन शहर

म्यान्मारको आर्थिक राजधानी रंगुन शहर विहानैदेखि सुनसान छ। आइतबार दिनभर जसो आतंकित बनेको रंगुन सोमबार एकाविहानै सुरक्षाकर्मीको नियन्त्रणमा छ। 

रंगुनका मुख्य सडकहरूमा मानिस देखिएका छैनन्। सवारी-साधनपनि कहिँकतै चलेको देखिदैन्। र, दशौं हजार मानिसको भिड हुने रंगुन चुपचाप छ। सेनाको दमन तोडेरपनि प्रजातन्त्रको पुनःस्थापना गर्ने प्रदर्शनकारीको भनाई छ। म्यान्मार सेनाले प्रजातन्त्रको हत्या गरेको म्यान्मालीहरू बताउँछन्। 

प्रजातन्त्र पुनःस्थापनाका लागि सैन्य 'कू'विरूद्ध नागरिक आन्दोलन तीन हप्तादेखि जारी छ। सोमबारको दृश्य हेर्दा लाग्छ– प्रदर्शनकारी डराएका छन्। उनीहरू स्थानीय समय अनुसार नौं बजेसम्म सडक वरपर देखिएका छैनन्।

रंगुन शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चरैतिर प्रहरी मात्रै देखिएका छन्। आन्दोलनकारीलाई सडकमा प्रतिबन्द गरिएको छ। 

म्यान्मार सैन्य 'कू'विरूद्ध आइतबार शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २४ जनाले ज्यान गुमाएका छन्। आन्दोलनका क्रममा थ्रुपै घाइते भएको ऐरावती पत्रिकाले जनाएको छ। 



प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको अन्धाधुन्ध आक्रमणPhoto - AFP

म्यान्मारमा सैन्य 'कू'विरूद्धको आन्दोलनमा सहभागी मानिसलाई सुरक्षा बलले अन्धाधुन्ध आक्रमण गरेकाे छ। आन्दोलनकारीको दृश्य कैद गर्न सडकमा पुगेका पत्रकार र सयौं प्रदर्शनकारी पक्राउ पनि परेका छन्। 

राजधानी नेपिटो, मुख्य शहर रंगुन र माण्डलेमा सुरक्षाकर्मीको आक्रमणबाट दर्जनौं मानिस घाइते भएका छन्। जुन्ता सरकारको मुखपत्र एमआरटीभीले देशभरबाट ४ सय ४९ आन्दोलनकारी पक्राउ परेको समेत बताएको छ।

अघिल्लो हप्ताको तुलनामा यसपटक विरोध प्रदर्शनमा एकल गिरफ्तार पर्नेको संख्या सबैभन्दा बढी छ। म्यानमारमा सैन्य शासकविरूद्ध सडक आन्दोलन सुरु भएको तीन हप्ता पुगिसकेको छ। 

प्रजातान्त्रिक तवरले चुनिएका नेताहरू सेनाले हिरासतमा लिएपछि सैन्य तानाशाहीको निन्दा गर्न मानिस सडकमा उत्रने क्रम अझैपनि जारी छ। उनीहरूले प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको रिहाई माग गर्दै जनप्रदर्शन गरिरहेका छन्।

नेपिटो र माण्डलेमा सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान समेत गुमाएका छन्। प्रहरीले प्रदर्शनकारीमाथि चरम दमन गर्न गर्दापनि म्यान्माली जनताको सडक सहभागिता उतिकै देखिन्छ। 

शनिबार सैन्य 'कू'विरूद्धको आन्दोलन विगतका दिनहरूभन्दा बढी नै हिंसात्मक बनेको छ। देशको उत्तरी राज्य कचिनमा बौद्ध विहारमा भेला भएका आन्दोलनकारीलाई प्रहरीले तितरबितर पार्न शक्ति प्रयोग गरेको थियो। स्थिति हिंसात्मक भएपछि बन्दुक चलाएको स्थानीयले दाबी गरेका छन्। 



राष्ट्र संघका लागि म्यान्मारका राजदूत तुन सैन्य 'कू'को विपक्षमा उभिए

संयुक्त राष्ट्र संघका लागि म्यानमारका राजदूत क्या मो तुनले महासभामा देशमा जारी सैन्य 'कू' (जुन्ता सरकारको)को निन्दा गरेका छन्। उनले म्यान्मारमा प्रजातन्त्रको समर्थनमा संघर्ष गर्ने चेतावनी दिए। 

राजदूत तुनले म्यान्मारमा प्रजातन्त्र बहाल गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत मागेका छन्। संयुक्त राष्ट्र संघको महासभामा सैन्य शासकको विरोधमा उत्रिएका उनलाई लाखौं मानिसले सडक र सामाजिक सञ्जालमार्फत् स्वागत तथा समर्थन गरेका छन्।

महासभामा बोल्दै तुनले जनताका लागि सरकार बनाउने प्रजातन्त्रवादीहरूको पक्षमा बोल्न विश्वभरका प्रजातान्त्रिक राष्ट्रहरूमा आग्रह गरे। उनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारको पुनःस्थापनाको माग समेत गरेका छन्।

म्यान्मारका मानवअधिकारकर्मीहरूले संयुक्त राष्ट्र संघको इतिहासमा कुनैपनि देशका प्रतिनिधि शासकविरूद्ध उभिएको दृश्य नौलौ भएको दाबी गरेका छन्।

महासभामा उपस्थित सबैले तुनको पक्षमा बोल्दै अपदस्थ नेत्री आङ सान सु कीलगायत सबै नेताहरुलाई बिना–सर्त रिहा गर्न र लोकतान्त्रिक सरकार गठन गर्न जुन्ता सरकारलाई पटकपटक आग्रह गरे। उनले म्यान्मारका आन्दोलनकारीको प्रतिक मानिने तीन औँलाको सलामलाई पनि दोहराएका छन्।

सयुंक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसका प्रवक्ता स्टीफन दुजारिकले तुन र म्यान्मारको अपदस्त लोकतान्त्रिक सरकारलाई पूर्ण समर्थन रहेको बताएका छन्। आफ्नो विचार ब्यक्त गर्दा जेल जानुपर्ने नियम मान्य नहुने बताउँदै प्रवक्ता दुजारिकले भने, 'अभिव्यक्ति स्वतन्त्रता को रक्षा गर्न सम्पूर्ण विश्वले आवाज उठाउनुपर्छ।'

संयुक्त राष्ट्र संघमा तुनले उठाएको आवाजले म्यान्मारमा जारी नागरिक आन्दोलनमा भाग लिएकाहरूलाई थप उत्साहित बनाएको छ। प्रदर्शनकारीहरूले राजदूतलाई जनताको आवाज उठाएकोमा धन्यवाद समेत दिएका छन्।



बर्मेली नेपाली शारदा भन्छिन्– 'डराइ–डराइ जिउनुलाई जीवन भनिँदैन'

सैन्य दमनले गोर्खालीहरू 'खुनका आँशु' लिएर घर फर्किएका छन्

सैन्य 'कू'विरूद्ध सडकमा उर्जा थपिदै, नेपालीभाषी पनि आन्दोलित

सडकमा युवाको भिड बढेपछि अत्तालियो सैन्य सरकार



प्रकाशित मिति: : 2021-02-28 11:17:00

प्रकाशित मिति: : 2021-03-02 08:32:00

प्रतिकृया दिनुहोस्