धमाधम कालोपत्रे गरिँदै चरीकोट– जिरी सडकखण्ड

Symbolic photo

लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ। 

कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ। 

लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार तथा कालोपत्रको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ।

सडक निर्माण गर्न लामो समयसम्म कोरोनाले प्रभाव पारेको र उक्त प्रभावलाई मध्यनजर गरी सरकारले ६ महिनाको समयावधि थप गरेअनुसार तोकिएको समयमानै काम सम्पन्न गर्ने गरी काम भइरहेको लामा कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक जिपछिरिङ शेर्पाले बताए। 

चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक २०१९ मार्चबाट साँढे दुई वर्षमा काम सक्ने गरी लामा कन्स्ट्रक्सनले जिम्मा लिएको थियो।

निर्माण कम्पनीले हालसम्म चरीकोटदेखि तामाकोशीसम्म १७ किलोमिटर र वैत्येश्वर गाउँपालिकाको नाम्दुको बुस्तीसम्मको साँढे दुई किलोमिटर कालोपत्र सम्पन्न गरिसकेको छ।

 तापक्रम मापन गर्दै विभिन्न ठाउँबाट धमाधम कालोपत्रको काम गरिरहेको कम्पनीले अहिले बुस्तीदेखि नाम्दु बजारसम्म कालोपत्रको काम र नाम्दुदेखि मैनापोखरीसम्म सबवेसको काम सकेर बेस हालिरहेको आयोजनाका प्रमुख इन्जिनीयर राजेन्द्र पौडेलले बताए। 

कोरोनाको कारण र वर्षातको समयमा राम्रोसँग काम गर्न नपाए पनि हिउँदमा तीव्र गतिमा काम भइरहेको कारण मैनापोखरीदेखि जिरीसम्म ८६ प्रतिशत संरचना निर्माणको काम सम्पन्न भइसकेको र यो फागुनभित्र नाम्दुसम्म कालोपत्र गरी ५० प्रतिशत कालोपत्रको काम सम्पन्न गर्ने योजना रहेको कम्पनीले जनाएको छ। ठेक्का सम्र्झौता  सकिन अझै एक वर्ष बाँकी छ। 

करीब ३५ वर्षअघि स्विस सरकारको सहयोगमा निर्माण गरिएको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक फराकिलो पार्ने तथा कालोपत्रको काम हाल नेपाल सरकारले गरिरहेको छ।

 स्विस सरकारले ३५ वर्षअघि सडक निर्माण गर्दा नै सडकको केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा ल्याएको थियो  

हिमाली क्षेत्र दोलखा र सिन्धुपाल्चोकको विभिन्न क्षेत्रको भूभागलाई समेटेर जिरीसम्म धेरै पहिले निर्माण गरेको सडक जीर्ण बन्दै गएका कारण भारतीय एक्जिम बैंकको ऋण सहयोगमा नेपाल सरकारले सडक विस्तारको काम गरेको हो।

 सडक निर्माण गर्न एक्जिम बैंकले रु तीन अर्ब ७० करोड सहुलियत ऋण लगानी गरेको छ। 

भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनले रु दुई अर्ब २८ करोडमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-03-02 12:29:00

प्रतिकृया दिनुहोस्