फेरि शेयरबजारमा उछाल, नेप्से परिसूचक ९० अंकले बढ्यो 

फाइल तस्वीर
फाइल तस्वीर

सेयरबजारमा साताको अन्तिम दिन बिहीबार फराकिलो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ।

केही दिनयता निराश बनेका लगानीकर्तालाई बिहीबारको बजार उत्साह थपिदिएको छ। सरकार र हिंसात्मक आन्दोलनमा उत्रिएको नेकपाको विप्लप समूहबीच सहमति भएपछि बजारमा उछाल आएको हो।

बिहीवार सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ अंक बढेको छ।

पछिल्ला कारोबार दिनहरुमा 'करेक्सन' भइरहेको नेप्से, यस दिन उकालो लागेको विश्लेषकहरु बताउँछन्। अहिले नेप्से बुलिश ट्रेण्डमा रहेका कारण पछिल्ला केही दिनहरुको करेक्सनपछि अब बजार पुनः उकालो लागेको उनीहरुको भनाइ छ।

नेप्से परिसूचक उच्च अंकले उकालो लागे पनि यस दिन कारोबार रकममा भने ६ अर्बमा नै सीमित भएको छ।

२०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४.७८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ।

सो बैंकको यस दिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नबिल बैंक र शिखर इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

१३ कम्पनीको शेयरमूल्य भने घटेको छ। जसमध्ये अधिकांश म्युचुअल फण्ड र 'डिबेञ्चर' रहेका छन्।

प्रकाशित मिति: : 2021-03-04 17:15:00

प्रतिकृया दिनुहोस्