पाँचौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत तेस्रो सातादेखि हुने भएको छ।
नेपाल भलिबल सङ्घले आज पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो। काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
गत वर्ष चैतमा हुनुपर्ने सो प्रतियोगिताका कारण एक वर्षपछि सरेको हो। गत वर्ष नै माघमा सम्पन्न एनभीए क्लब भलिबल च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका पुरुष र महिला टोली छनोट गरिएको सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिए।
लिगमा पुरुषतर्फ २८ तथा महिलातर्फ १५ खेल हुनेछन् भने शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। प्रतियोगितामा सहभागी हुने खेलाडी तथा पदाधिकारीका लागि बीमाको व्यवस्था गरिएको सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
चन्दका अनुसार प्रतियोगिताका विजेता महिला र पुरुष दुवै टोलीले रु तीन लाख, उपविजेता टोलीले रु एक लाख ५० हजार, तेस्रो हुनेले रु ७५ हजार तथा चौथो हुनेले रु ३७ हजार ५०० पुरस्कार प्राप्त गर्नेछन्। रासस