लामो समयदेखि 'भगवान्' बनाउदै आएका सुवासचन्द्र

File photo
File photo

मानिसले हरेक कुरालाई गहिराइमा पुगेर त्यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन। जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ। बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने आफुलाई चित्रकला र  मूर्तिकलामा व्यस्त राखेका छन्। 

ढुङ्गाको आकर्षक मूर्ति र शिलालेख लेखनमा लामिछानेको पृथक परिचय छ। उनले तयार गरेको मूर्ति नेपालका धेरै स्थानमा पुगेको छ। लामिछानेका दाजुभाइ पनि मूर्तिकला व्यवसायमा सक्रिय छन्।

सुवासचन्द्र सानै उमेरमा चित्रकलामा पोख्त थिए। उनी अहिले ४६ वर्षको भए। पुख्र्यौली घर कुस्मा नगरपालिका–१० गहतेपखरा हो। त्यही गाउँबाट एसएलसी उतीर्ण गरेका लामिछाने अहिले धौलागिरिमा सफल व्यवसायीका रुपमा परिचित छन्।

बागलुङ नगरपालिका– २ श्रीनगर टोल, क्याम्पस रोडमा बस्दै र व्यवसाय गर्दै आएका लामिछाने दाजुभाइ मूर्तिकला र शिलालेखको काममा सदैव भ्याइनभ्याइ हुन्छ। 

पुख्र्यौली चित्रकलामा पोख्त लामिछानेले कक्षा २ मा अध्ययन गर्दा धौलागिरि अञ्चलमा नै चित्रकलामा प्रथम भएको बताए। “सानै उमेरमा चित्रकलामा बढी जोड थियो, धेरै पटक प्रतियोगितामा भाग लिँदा अधिकांशमा प्रथम भए”, लामिछानेले भने। 

अहिले लामिछानेका चारै भाई मूर्तिकलामा हुनुमा जेठा सुवासचन्द्रकै योगदान छ। सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्बल आर्ट सञ्चालनमा ल्याएका छन्। भाइ लेखनाथको श्रीनगर टोलमा र भाइ विपिनले म्याग्दीमा मूर्ति उद्योग चलाईरहेका छन्। 

त्यतिबेला लामिछानेलाई मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उनले २०५२ सालबाट व्यावसायिकरुपमा मूर्ति बनाउने काम सुरु गरे। एसएलसी पास गरेपछि व्यावसायिक बनेका लामिछानेले पहिलोपटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गरेका थिए। रासस

प्रकाशित मिति: : 2021-03-08 13:36:00

प्रतिकृया दिनुहोस्