दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी ?

रातोपाटी

काठमाडाैं

मुलुकको राजनीतिक अवस्था सङ्कटपूर्ण छ । यो अवस्थामा ‘वर्तमान दोषपूर्ण दलतन्त्रमा रूपान्तरण कसरी ?’ भन्ने शीर्षकले दलतन्त्रभित्रका कुरीति, विकृति, दोषलाई हटाएर वर्तमान संसदीय व्यवस्थालाई बलियो बनाउन सकिन्छ भन्ने आशय–सन्देश दिन्छ । त्यस प्रकारको परिप्रेक्ष्यमा यो शीर्षकमा आज हामी छलफल गर्दैछौँ ।

म एउटा कम्युनिस्ट हुँ । देशमा स्थापित  गणतन्त्र राजतन्त्रलाई फालेर ल्याइएको हो । अघि हरि रोकाले भन्नु भएजस्तै यो क्रान्तिबाट पूरै बढारेर ल्याइएको गणतन्त्र होइन, सम्झौताबाट ल्याइएको गणतन्त्र हो । त्यो सम्झौता पनि नेपाली जनता र नेपालका राजनीतिक दलहरुबीच भएर ल्याएको होइन; विश्व साम्राज्यवाद, भारतीय विस्तारवाद र नेपालका राजनीतिक दलहरुबीच सम्झौता भएर ल्याइएको गणतन्त्र हो । त्यसैले म भन्छु, अहिले नेपालमा स्थापित गणतन्त्र विश्व साम्राज्यवादी गणतन्त्रको एउटा अंग, हिस्सा हो । त्यसैले म एउटा कम्युनिस्ट भएकाले यस्तो गणतन्त्रलाई जसरी हुन्छ जोगाउनुपर्छ भन्ने उपाय खोज्ने तरिकालाई सही मान्दिनँ, बरु म भन्छु– यो गणतन्त्रलाई कमजोर पारेर सिध्याउनुपर्छ ।

दोस्रो, अहिलेको सन्दर्भमा मैले प्रचण्डजी, माधव नेपालजीहरुको आन्दोलनलाई समर्थन गरेको छु । यो मेरो बाध्यता हो । मैले यतिबेला क्रान्तिका ठूला ठूला कुरा गरेर त हुँदैन । यतिबेलाको परिप्रेक्ष्यमा त्यो प्रगतिशील कदम हुन्छ, कमसे कम बनिसकेको संविधानलाई कुडादानमा हाल्ने कामका विरुद्ध सङ्घर्ष गरेर केपी ओलीलाई घुँडा टेकाउन सकियो भने भोलि प्रचण्ड–माधव नेपालहरुले, शेरबहादुर देउवाले त्यसो गर्न सक्नुहुन्न । त्यो एउटा सकारात्मक पक्ष भएकोले मात्र मेरो समर्थन हो ।

प्रकाशित मिति: : 2021-03-09 11:12:00

प्रतिकृया दिनुहोस्