प्रिय पाठक, हामीमाथिका अन्यायबारे तपाईंं के भन्नुहुन्छ?

हिमाल खबर

काठमाडाैं

डा. श्वेता ज्ञानु बानियाँ
म हरेक बिहान हाम्रो पात्रोका नोटिफिकेसनसँगै उठ्छु, तिनले मलाई उता नेपालमा के भइरहेका छन् भन्नेबारे जानकारी दिन्छन्। विगत तीन वर्षको अन्तरालमा धेरै पटक बलात्कार, लैंगिक हिंसा, यौनिक पहिचानलाई आधार बनाएर गरिने हिंसा, दुर्गम नेपालमा छाउपडी प्रथाबाट हुने मृत्युका समाचारबाट मैले दिन शुरू गरेकी छु। 

सञ्चारजगतका खबर पढिसकेपछि म आफ्नो इन्स्टाग्राम खोल्छु। र, ‘टेल्स अफ मोडर्न बुहारी’ भन्ने अकाउन्टमा आएका भोगाइ पढ्न थाल्छु। त्यसमा धेरै नेपाली महिलाले एकान्त एवं गोप्य परिवेशमा भोगेका यौनहिंसा, उत्पीडन, बलात्कार, दुर्व्यवहार, बाल यौन दुराचारका विवरणहरू भरिभराउ छन्। 

ती अहिलेका आधुनिक बुहारीहरूका पीडाका भोगाइ पढिरहँदा ममा भित्रैदेखि आक्रोश पलाउँछ। रिसले चुर हुन्छु। निराशा बढेर बेचैन भएपछि म सक्दो जोडले दाह्रा किट्न थाल्छु। बालिका तथा महिलाले भोगेका हिंसा, अन्याय तथा अपराधको परिणाम बुझ्न नसकेर म भित्रभित्रै विक्षिप्त हुन पुग्छु।

आफ्नो लैंगिक पहिचानका आधारमा पारलैंगिक तथा विविध लैंगिक पहिचानका व्यक्तिहरू र आफ्नो यौन अभिमुखीकरणका आधारमा समयौनिक, द्वियौनिक, सर्वयौनिक लगायत व्यक्तिहरूले वर्षौंदेखि पीडा, असमानता वा अपराध भोगेको महसूस गर्दा दुःख लाग्छ। मानिसका विविध लैंगिक पहिचान हुनसक्छन्। मानिसका विविध यौन अभिमुखीकरण हुन्छन्। समाजको परम्परागत परिभाषाले समेट्न नसकेको कारण उनीहरूले अन्याय झेल्नुपरेको छ।
 

प्रकाशित मिति: : 2021-03-09 11:15:00

प्रतिकृया दिनुहोस्