बारामा १९ वर्षीय युवकको घाँटी रेटी हत्या

भेटिएको क्लु टेकेर अनुसन्धान गर्दै प्रहरी

फाइल तस्वीर
फाइल तस्वीर

बाराको निजगढमा एक युवक हत्या भएको छ।

आज बिहान करिब ५ बजेतिर प्रहरीले निजगढ नगरपालिका ९ स्थित बुद्ध चोकमा १९ वर्षीय रोहित शर्माको शव फेला पारेको हो।

आफ्नै घरको कोठा भित्र हत्या गरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए।

'घाँटी रेटेर हत्या गरेको देखिएको छ। घटनाको थप अनुसन्धान गरिरहेका छौँ,' डिएसपी मिश्रले भने।

रोहित आफ्नो दुई तले घरमा एक्लै बस्दै आएका थिए। पेन्टरको काम गर्ने रोहितले तल्लो तलाको कोठामा भने भाडामा पसल गर्न दिएका थिए।

मङ्गलबार पसल गर्न पुगेका मानिसले रोहितको चालचुल नदेखेपछि हेर्दा मृत अवस्थामा कोठा भेटिएपछि प्रहरीलाई खबर गरेको डिएसपी मिश्रले बताए।

'दुई तलाको घरमा उनी एक्लै बसेको देखिएको छ। तल भाडामा बस्नेहरू दिनभर पसल गर्ने र साँझ आफ्नै कोठामा जाने गरेको बुझियो,' डिएसपी मिश्रले भने।

प्रहरीले घटनाको अनुसन्धान गर्ने प्रहरीको तालिम प्राप्त कुकुर समेत झिकाएको छ। घटना पछिको प्रारम्भिक अनुसन्धानमा केही क्लु समेत फेला परेको छ। जसले अभियुक्त समक्ष पुग्न थप सहयोग गर्ने प्रहरीको दावी छ।

प्रकाशित मिति: : 2021-03-09 13:23:00

प्रतिकृया दिनुहोस्