रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्का

रासस

गलेश्वर
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ।

बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।

अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको कांग्रेस म्याग्दीले जनाएको छ।

उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत भएका थिए। उनी मुटुसम्बन्धी रोगको औषधि सेवन गर्थे।

कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात थिए।

एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहेका उनका एक छोरा र एक छोरी छन्। खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो।

स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित थिए।

पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उनको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन्।
 

प्रकाशित मिति: : 2021-03-09 14:26:00

प्रतिकृया दिनुहोस्