ऐतिहासिक अवसर गुमाएको ‘नेकपा’ को ४१ महिना

अनलाइनखबर

काठमाडौँ

२५ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले दिएको ‘दसैं बम्पर उपहार–२०७४’ ले मुलुकमा सानो कम्पन ल्याएको थिएन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना पनि बाँकी थिएन । निर्वाचनको तयारी तीब्र थियो । दसैं मनाउन गाउँ गएकाहरू राजधानी फर्किएका थिएनन् ।

दसैंको टीकाकै भोलिपल्ट (१५ असोज २०७४ मा) सहमति जुट्यो– नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वाम गठबन्धन बनाउने । नेपाली काँग्रेस नेतृत्वको संयुक्त सरकारमा रहेका माओवादी र प्रमुख विपक्षी दल एमाले बीच १७ असोज २०७४ मा गठबन्धन घोषणा भयो । 

सत्ता साझेदार काँग्रेस नराम्रो गरी झस्कियो । एमाले र माओवादीका नेता–कार्यकर्ता चकित बने । त्यसबेला एमाले र माओवादीबीच सम्बन्ध सहज थिएन । तीन चरणमा सम्पन्न स्थानीय चुनावमा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

तर, रातारात एमालेसँग माओवादीको गठबन्धन बन्यो । साझा घोषणापत्र र उम्मेदवार तय भए । १० र २१ मंसिर २०७४ मा सम्पन्न निर्वाचनमा देशभर वाम गठबन्धनको लहर आयो । ६ प्रदेश र संघमा पूर्ण बहुमतको सरकार बनाउने जग खडा भयो । तर, पाँच वर्षका निम्ति प्राप्त जनमतको जगमा बनेका सरकारहरू तीन वर्ष नपुग्दै धर्मराउन पुगे भने मंगलबारदेखि एमाले र माओवादी केन्द्र फेरि अलग भए ।

प्रकाशित मिति: : 2021-03-10 07:42:00

प्रतिकृया दिनुहोस्