उर्लाबारीका व्यवसायी विनोद न्यौपानेद्धारा छात्रवृत्ति प्रदान

उर्लाबारीका व्यवसायी विनोद न्यौपानेले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको छात्रवृत्ति कोषबाट दमक–१० सानो बाह्रघरेको सिंहदेवी माविमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्। मंगलबार विद्यालयमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।

‘खगेन्द्रप्रसाद पद्म रत्न न्यौपाने छात्रवृत्ति कोष’ को रकमबाट विद्यार्थीहरू सरिता श्रेष्ठ, सविना कार्की, सृजना दाहाल, हस्तबहादुर मादेनलाई जनही ४ हजार २ सय रुपैयाँ प्रदान गरिएको छ।  यस्तै, रूजिना परियार, चित्रकला खड्का, सुदीक्षा भण्डारी, ख्यामराज कार्की, विन्दु धिमाल र सविना बस्नेतलाई जनही ३ हजार ६ सय तथा सफलता अधिकारी, स्वस्तिका लिम्बू र खेमकुमारी अधिकारीलाई जनही १८ सय छात्रवृत्ति प्रदान गरिएको छ।

यस्तै, एसइइमा उत्कृष्ट अंक ल्याउने समीक्षा कार्की र सरिता श्रेष्ठलाई जनही ७ सय ५० तथा कक्षा १२ मा प्रथम हुने गोमादेवी लुइटेललाई १५ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरियो। आफ्ना पितामाताले देखाएको बाटोलाई पछ्याउँदै कमाइको केही अंश सामाजसेवामा खर्च गर्ने उद्देश्यले सो विद्यालयमा २०६७ सालदेखि वर्षेनि छात्रवृत्ति प्रदान गर्दै आएको उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका पुरस्कार कोषका सञ्चालक विनोद न्यौपानेले बताए। पढाइमा अब्बल तथा विपन्न विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाँच लाख रुपैयाँ अक्षयकोष खडा गरेको उनले बताए।

कार्यक्रममा सिंहदेवी माविमा अध्यापन गराएर सेवा निवृत्त भएका तथा सरूवा भएका आधा दर्जन शिक्षकलाई विदाई गरिएको थियो। शिक्षकहरू त्रिलोचन खनाल, रमेश सुवेदी, टिकाप्रसाद अधिकारी, कल्पना उप्रेती, हेमन्त न्यौपाने, कृष्ण घिमिरेलाई विदाई गरिएको हो। यस्तै, सो विद्यालयमा ३५ वर्षदेखि निरन्तर सेवा गर्दै आएका शिक्षक शारदा उपाध्याय र प्रविधिमैत्री शिक्षा प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने शिक्षक भीमप्रसाद तिम्सिनालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपाने, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, पुरस्कार कोषकी संरक्षक रत्न न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक–१० का वडाध्यक्ष बोधराज न्यौपाने, विव्यसका पूर्व अध्यक्षहरू देवीप्रसाद दाहाल, जंगबहादुर थापा, प्रधानाध्यापक रुद्रप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष शारदा न्यौपानेलगायतले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए। पुरस्कार कोष सञ्चालक विनोद न्यौपानेले आफ्ना पिता खगेन्द्रप्रसादले संखुवासभामा स्थापना गरेको विद्यालय र उर्लाबारी बहुमुखी क्याम्पसमा पनि छात्रवृत्ति कोष खडा गर्ने बताए।

प्रकाशित मिति: : 2021-03-10 09:01:00

प्रतिकृया दिनुहोस्