जसपामा दुई धार : एमाले रोज्‍ने कि माओवादी?

सत्ता समीकरणमा लाग्दा पार्टी विभाजन हुन सक्ने खतरा

थाहा खबर

काठमाडौँ

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एक भंग गर्ने निर्णय गरेपछि नयाँ सत्ता सहकार्यको समीकरण खोजी भइरहेको छ। नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि नयाँ सरकार गठनको लागि समीकरण खोजी तीव्र भइरहेको छ। 

नेकपाको एकता भंग भएपछि संसद्मा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार निर्णय गर्नका लागि जसपाको साथ खोजेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीले जसपालाई आफ्नो पक्षमा ल्याउन पहल गरिरहेका छन्। 

यता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओली सरकार ढाल्न कांग्रेस र जसपासँग साथ मागिरहेका छन्। ओली सरकार थाल्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सकारात्मक भएको बुझिएको छ। 

मंगलबार प्रचण्डले देउवा र भट्टलाई भेटवार्ता गरेका थिए। यता, जसपाको तत्कालीन राष्टिय जनता पार्टी (राजपा) पक्षले ओलीसँग सत्ता सहकार्यका लागि कार्यदल समेत बताएको छ। कार्यदल बनाएको विषयमा संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव बेखबर नै थिए।  

माओवादीसँग सत्ता सहकार्य गरेर ओली सरकार ढाल्न बाबुराम सकारात्मक देखिएपछि प्रचण्डले जसपा अर्को पक्ष ठाकुर र महतोसँग पनि छलफल गरेका छन्। 

एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल

नेकपा एमालेसँगको सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले कार्यदल गठन गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको टोलीले कार्यदल गठन गरेको हो।

कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्। सत्ता सहकार्यबारे गठन गरिएको कार्यदलमा एमालेका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ छन्। 

जसपा सांसद रेशम चौधरीलाई रिहाइको सर्तमा सत्ता सहकार्यको कार्यदल गठन गरिएको स्रोतले बतायो। कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी अहिले जेलमा छन्। ​

प्रकाशित मिति: : 2021-03-10 19:34:00

प्रतिकृया दिनुहोस्