अमेरिकी संसदद्वारा १.९ ट्रिलियन डलरको रेस्कु प्लान पारित, शुक्रबार गर्दैछन् राष्ट्रपति बाइडनले हस्ताक्षर

बिएल संवाददाता

वासिङ्टन डीसी
अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सले १.९ ट्रिलियन डलरको अमेरिकन रेस्कु प्लान पारित गरेको छ। भर्खरै सम्पन्न मतदानमा २२०-२११ को बहुमतले स्टिमुलस चेक,अतिरिक्त बेरोजगारी भत्तालगायतका रेस्कु प्लान रहेको बिधेयक पारित गरेको हो।
 
राष्ट्रपति बाइडन समर्थित विधेयकको पक्षमा २२० डेमोक्रेट्सले पार्टी लाइन मतदान गरे पनि मेनका सांसद जरेड गार्डेनले भने विपक्षमा मतदान गरे। उता, रिपब्लिकन पार्टीका सबै २१० सांसदले प्रस्तावको विपक्षमा मतदान गरे। 
 
यसअघि कंग्रेसको माथिल्लो सदन सिनेटले पारित गरिसकेको विधेयक अब कानुन बन्ने अन्तिम प्रक्रियाका लागि ह्वाइट हाउसन पठाइने छ। व्हाइट हाउसकी प्रेस सेक्रेटरी जेन सासाकीका अनुसार शुक्रबार दिउँसो राष्ट्रपति बाइडनले हस्ताक्षर गर्नेछन्। उनको हस्ताक्षरपछि यो विधेयक कानुन बन्ने छ।
 
यो विधेयकले निम्न तथा मध्यम आय भएका अमेरिकी करदातालाई १,४०० को स्टिमुलस चेक उपलब्ध गराउने छ। एकल वार्षिक आम्दानी ७५ हजारभन्दा कम, दम्पतीको आम्दानी १५०,००० भन्दा कम र घरमुलीको हकमा ११२,००० भन्दा कम भएको करदाताले यस्तो सुविधा पाउँनेछन्। यो सुविधा बढीमा दुई आश्रित सन्तानसम्मलाई दिने भएकाले एक परिवारले बढी ५६००० डलरसम्म  पाउँनेछ। 
 
राष्ट्रपति बाइडनले मार्च महिनाको अन्तिमसम्ममा करदाताको बैंकमा स्टिमुलस चेक जम्मा भैसक्ने बताएका छन्।  
प्रकाशित मिति: : 2021-03-11 01:13:00

प्रतिकृया दिनुहोस्