सत्ता राजनीतिका ‘भेट्रान खेलाडी’ देउवा उथलपुथलमा पनि किन शान्त ?

जसपालाई प्रधानमन्त्री दिन काँग्रेस सकारात्मक !

रातोपाटी

काठमाडौं

भावी सत्ता समीकरणबारे काँग्रेस सभापति शेरबहादुर देउवा मौन जस्तै छन्। एकमना सरकार चलाएको ‘नेकपा’ एमाले र माओवादी केन्द्रमा फर्किँदा पनि देउवामा हलचल आएको छैन।

नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र बूढानीलकण्ठ (देउवा निवास) शान्तजस्तै छ। वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार बनाउन तीव्र दौडधुप चलिरहेका बेला देउवाको मौनता आश्चर्य लाग्दो छ।

सत्ता राजनीतिका भेट्रान खेलाडी भनिने देउवा यो पटक प्रधानमन्त्री बन्ने मौका आउँदा निश्कृय जस्तो देखिएको पाइन्छ। तर महामन्त्री पूर्णबहादुर खड्का भने देउवा प्रधानमन्त्रीको रेसभन्दा बाहिर र निश्कृय पनि नरहेको बताउँछन्।

उनले भने, ‘सभापतिजीले प्रधानमन्त्री रेसमा छैन मात्र भन्नु भएको छैन, संसदीय व्यवस्थामा विपक्षी दलको नेता ‘प्राइममिनिस्टर इन वेइटिङ’ हो पनि भन्नु भएको छ। प्रधानमन्त्री लागि उथलपुथल गर्ने प्रवृत्तिमा छैन भन्नु भएको हो।’

खड्का अनुसार अहिले प्रधानमन्त्री को बन्छ भन्ने कुराको प्रारम्भिक संवाद सुरु गर्ने बेला भएको छैन।

‘नेकपा एमाले र माओवादीले हिजो मात्र आधिकारिकता पाए। उहाँहरुले आफ्नो पार्टीको औपचारिक गतिविधि नै सुरु गर्नुभएको छैन। काँग्रेस वा अन्य पार्टीले प्रधानमन्त्रीका कुरा गर्नु हतारो हुन्छ। अहिले दलहरुबीच समझदारी कसरी गर्ने भन्नेमा छलफल जुट्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2021-03-11 10:32:00

प्रतिकृया दिनुहोस्