योजना भन्छिन्- कण्डम किन निःशुल्क, प्याड किन महँगो? (भिडियोसहित)

तेजन खड्का

उर्लाबारी

गत सोमबार अर्थात फागुन २५ गते। मोरङको लेटाङ नगरपालिकाकाे सभाहल- जहाँ जम्मा थिए, सयको हाराहारीमा। जसमा २० जना त बालबालिका नै उपस्थित थिए। 

बाल विवाहको अन्त्यका लागि जम्मा भएका सरोकारवालाहरूको बीचमा फडानीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय किशोरी योजना खपाङगीले जिज्ञासा राखिन्, ‘पुरुषले प्रयोग गर्ने कण्डम हरेक स्वास्थ्य चौकीमा निःशुल्क बाँडिन्छ। तर किशोरीले प्रयोग गर्ने प्याड किन यति महँगो?’ 

कार्यक्रममा उनले यो जिज्ञासा राख्दा त्यहाँ उपस्थित सबै एकछिन त अक्कनबक्क परे। सबैको ध्यान उनीतर्फ मोडियो। योजना यत्तिकैमा रोकिनन्। उनले प्रश्न गरिन्, ‘कण्डम मनोरञ्जनका लागि प्रयोग हुन थालेको छ। प्याड किशोरी र आमाको स्वास्थ्य सुरक्षाका लागि। तीन तहको सरकार बनिसक्दा पनि प्याड सर्वसाधारण महिलाको पहुँचमा अझै पुग्न सकेको छैन।’

लेटाङ नगरपालिकाको सभा हलमा उपस्थित नगर प्रमुख शङ्कर राई, उप–प्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाललगायत महिला अधिकारकर्मी, थुप्रै गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीका बीच योजनाले यो प्रश्न उठाएपछि सन्नाटा छायो। 

कार्यक्रममा योजना खपाङगीले जस्तै अरु थुप्रै विद्यार्थीले महिला अधिकारको कुरा उठाउन भुलेनन्। उनीहरूले महिला र बालबालिकाको क्षेत्रमा राज्यले स्वास्थ्य सचेतना पु¥याउन नसकेको विषय उठाए। गरिबी र सचेतनाको अभावमा अभिभावक आफ्ना छोराछोरीको विवाह उमेर नपुगी गर्न बाध्य भएको उनीहरूको भनाई थियो। 

पहाडी ग्रामीण विकास संस्था उत्तरी मोरङ हर्डनले  किण्डर मिसन वर्क र लेटाङ नगरपालिकाको सहयोगमा कार्यक्रम गरेको थियो। जसमा नगर प्रमुख शंकर राईले गोप्य रूपमा बाल विवाहको सूचना दिने ब्यक्तिलाई नगरले पुरस्कृत गर्ने बताए। उनले बालिकाको स्वास्थ्य सुरक्षामा नगरले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालाको पनि सहयोग आवश्यक रहेको बताए।

विद्यालयका छात्राहरूका लागि निःशुल्क प्याड वितरणको कार्यक्रम रहे पनि सरकारी टेण्डर प्रक्रिया झन्झटिलो भएका कारण अलि ढिलो भएको नगर उप–प्रमुख कृष्णकुमारी निरौलाले बताइन्। उनले विद्यालयमा अलग्गै चेन्जिङ रुमको समेत व्यवस्था गर्न नगरपालिकाले पहल गरिरहेको बताइन्। बाल विवाह अन्त्यका लागि सरोकारवाला एकजुट हुनु राम्रो पक्ष भएको बताउँदै निरौलाले बालबिबाह छुटाउँदा आउनसक्ने समस्याको समाधान पनि सँगै खोज्न सरोकारवालासँग आग्रह गरिन्।  

कार्यक्रममा वडाध्यक्षहरू, गैरसरकारी निकायका प्रतिनिधि, इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख रोहनराज अर्याल, विद्यालयका शिक्षकहरूको सहभागिता थियो। हर्डनका अध्यक्ष टेकबहादुर लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा संयोजक सुरेश अधिकारीले लेटाङका वार्ड नं. १,२,७ र ८ मा बाल विवाहका १२ वटा घटना भएकोमा दुई वटा विवाह मात्र रोक्न सकिएको बताए। कार्यक्रममा प्राबिधिक सहयोग सस्थागत बिकास संजाल ललितपुरले गरेको थियो।

प्रकाशित मिति: : 2021-03-15 19:38:00

प्रतिकृया दिनुहोस्