इँटाभट्टामा यौन शोषण, गर्भवती र सुत्केरीलाई ज्यानकै जोखिम

हिमाल खबर

काठमाडौं

इँटाभट्टामा महिला कामदार बस्न बनाइएका झुप्रामा ढोका होइन, पर्दा राखिएका छन्। रक्सी पिएर आउने पुरुष मजदूरले गर्ने यौन दुर्व्यवहार नियमित जस्तै छ। त्यति मात्र नभई गर्भवती र सुत्केरीले लगातार गह्रुंगो भारी बोक्दा ज्यान नै जोखिममा परिरहेको छ।

ललितपुर टीकाभैरव बस्ने रूपा खत्री (नाम परिवर्तन) चार वर्षअघिसम्म मार्बल उद्योगमा काम गर्थिन्। त्यहाँका पुरुष मजदूरले उनीमाथि यौन शोषण गर्थे। तर, उनलाई प्रतिवाद गर्नुपर्ने ज्ञानसमेत थिएन। निरक्षर थिइन्।

खत्री भन्छिन्, “कहिले रक्सी खाएर साथी भन्दै आउँथ्यो, कहिले तँ मेरी बूढी होस् भन्दै जबरजस्ती गथ्र्यो।” त्यही वेला खत्रीको गर्भ बस्यो। गर्भ बसेको थाहा पाएपछि ती व्यक्ति फरार भए। तर, मजदूर युनियनले प्रहरीमा जाहेरी दियो। त्यसपछि पक्राउ परेको उसले बच्चा स्वीकार गर्‍यो।

तर, ऊ विवाहित रहेछ। घरमा छोराछोरी पनि रहेछन्। प्रहरीमा भनेजस्तो खत्रीलाई श्रीमती स्वीकार गर्न अहिले उनले कानूनी अत्तो थापिरहेका छन्। खत्री उल्टै प्रश्न गर्छिन्, “मेडम, त्यसले छोरी खोसेर लग्छु भन्दै छ। त्यस्तो पाउँछ त?” 

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (कावन)ले ललितपुरको एक इँटा उद्योगबाट गर्भवती निरा गिरी (नाम परिवर्तन)लाई बन्दाबन्दीकै वेला उद्धार गर्‍यो। कावनकी केन्द्रीय सदस्य दुर्गा भण्डारीका अनुसार उनको गर्भको बच्चा कसको भन्ने नै थाहा छैन। उनी अविवाहित हुन् र अहिले आफ्नै घरमा छिन्।

प्रकाशित मिति: : 2021-03-19 19:06:00

प्रतिकृया दिनुहोस्