श्रीमानसँगको ‘डिभोर्स’पछि लालसरीको अपराध यात्रा

आयोमेल

काठमाडौँ

 सुजन पन्त

महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी साथी कल्पना हमाललाई पक्राउ गर्‍यो। कारण थियो– ‘हनी ट्रयाप’ मा पारी उनीहरुले गर्ने ब्ल्याकमेल। 

लालसरी र कल्पनामात्र नभई अन्य ३ जनालाई पनि प्रहरीले यसैआरोपमा पक्राउ गर्‍यो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार उनीहरुले यस्तै हर्कत गरी पुरुषलाई फसाउँदै आएका थिए। 

कसरी फसाउथे?
तीन हप्ताअघि ललिता र कल्पनाले एक वर्षदेखि चिनजानमा रहेका कोटेश्वरका एक पुरुषलाई होटलमा बस्दा पैसा हराएको र सहयोग गर्न भन्दै बोलाएका थिए। गेष्ट हाउस आउनेबित्तिकै ललिता ती पुरुषसँग नजिकिँदै गर्दा कल्पनाले भिडियो बनाउन भ्याइसकेकी थिइन्।

तर, कोटेश्वरका ती पुरुषलाई ‘हनी ट्रयाप’मा फसाउन खोज्दा उनीहरु आफैँ प्रहरी फन्दामा परे। ललिताले नै कोटेश्वरका ती पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। होटलमा पुगेका ती पुरुषसँगको अन्तरंगको भिडियो उनले गुपचुप रेकर्ड गरिन्।

पछि उक्त भिडियो म्यासेन्जरमार्फत् ती पुरुषलाई पठाएर ब्ल्याकमेलिङ गर्न थालेको प्रहरीको दाबी छ। ती पुरुषसँग ललिताले लाखौँ रुपैयाँ असुलेको एसएसपी सिंह बताउँछन्। जति पैसा दिए पनि ब्ल्याकमेलिङको क्रम नरोकिएपछि ती पुरुष प्रहरी गुहार्न बाध्य भए। 

सो भिडियो फेसबुक ‘म्यासेन्जर’ मार्फत् पठाई १० लाख रुपैयाँबाट ‘बार्गेनिङ’ सुरु गरी तीन लाख दुई हजार लिएको पीडितले प्रहरीसमक्ष बताएका छन्। उनीहरुले ती युवकबाट तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरिरहेका बेला उनीहरु प्रहरीको फन्दामा परेका हुन्।

दुवै जनामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको बताएको छ।

प्रकाशित मिति: : 2021-03-23 21:40:00

प्रतिकृया दिनुहोस्