मुम्बईको कोभिड अस्पतालमा आगो लाग्दा २ जनाको निधन

Photo - Hindustantimes
Photo - Hindustantimes

मुम्बईको एउटा कोभिड अस्पतालमा बुधबार राती आगलागी हुँदा २ जनाको निधन भएको छ।

अस्पताल मुम्बईको भान्डुप क्षेत्रको एउटा मलको तेस्रो तल्लामा अस्थाई निर्माण गरिएको थियो।

आगो राती १२ बजे लागेको बताइएको छ। यो घटनामा अस्पतालमा भर्ना भएका ७६ बिरामी सुरक्षित बाहिर निस्किन सफल भएको भारतीय मिडियाले जनाएका छन्।

उनीहरूलाई दोस्रो अस्पतालमा भर्ना गरिएको छ। २२ वटा दमकलले अस्पतालमा लागेको आगो शान्त पारेका थिए।

मुम्बईका मेयर किशोरी पेडनेकरले आगो कसरी लाग्यो भन्ने स्पष्ट नभइसकेको बताइन्। उनले भनिन्, ‘मैले पहिलो पल्ट मलमा अस्पताल बनाएको देखे। यस विषयमा छानवीन हुनेछ र दोषीमाथि कार्यवाही अगाडी बढाइने छ।’

यसअघि पनि भारतका विभिन्न कोभिड अस्पतालमा घटना भएका छन्। २७ नोभेम्बर २०२० मा गुजरातको राजकोट जिल्लामा आगो लाग्दा पाँच कोरोना संक्रमितको निधन भएको थियो।

यस्तै, २१ नोभेम्बरमा ग्वालियरको सम्भागको सबैभन्दा ठूलो जयारोग्य अस्पतालको आइसीयूमा आगो लागेको थियो। यहाँ २ जनाको निधन भएको थियो।

९ अगस्टमा आन्ध्र प्रदेशको विजयवाडाको एउटा होटलमा बनाइएको कोभिडको प्रारम्भिक चरणको अस्पतालमा आगो लाग्दा १० जनाको निधन भएको थियो।

६ अगस्टमा गुजरातको अहमदाबादमा पनि श्रेय कोभिड अस्पतालमा आगो लाग्दा ८ जनाको निधन भएको थियो।

प्रकाशित मिति: : 2021-03-26 10:16:00

प्रतिकृया दिनुहोस्