पाकिस्तानी राष्ट्रपति डा.अल्वी पनि कोरोना संक्रमित

बिएल संवाददाता

इस्लामाबाद
Photo : Arabnews.pk
Photo : Arabnews.pk

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वी पनि कोरोना संक्रमित भएका छन्।

उनले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन्। राष्ट्रपति अल्वीसँगै उनको श्रीमती समीना अल्वीलाई पनि कोरोना पोजिटिभ देखिएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान १० दिनअघि संक्रमित भएका थिए। यी सबैले कोरोनाको पहिलो खोप लगाइसकेका छन्। कोरोनाको दोस्रो खोप लगाएपछि मात्र एन्टीबडी बन्न सुरु हुने गर्छ। पाकिस्तानमा हाल कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ।

सरकारले संक्रमणलाई रोक्न विवाह तथा विभिन्न कार्यक्रममा भिडभाड नगर्न आदेश दिइसकेको छ। पाकिस्तानका भौतिक तथा योजनामन्त्री असद उमरको अध्यक्षतामा हालै बसेको बैठकले जुन शहरमा ८ प्रतिशतभन्दा बढी पोजिटिभ देखिन्छ, त्यस शहरमा भिडभाड गर्न प्रतिबन्ध लगाइने निर्णय गरिसकेको छ।

पाकिस्तानमा हाल दैनिक ४ हजारको हाराहारीमा संक्रमित देखिएका छन्। सयभन्दा बढी मानिसको दिनहुँ निधन भइरहेको छ।

प्रधानमन्त्री इमरान खानले कोरोनाको बिग्रदो अवस्थालाई ध्यान राख्दै राष्ट्रको नाममा भिडियो सन्देश दिइसकेका छन्। उनले जनतामाझ सावधानी अपनाउन अपील गरेका छन्।

प्रकाशित मिति: : 2021-03-30 07:12:00

प्रतिकृया दिनुहोस्