‘धन्न काइँला बा बिते र मेरो सिन्दुर जोगियो!’

सेतोपाटी

काठमाडौं

सम्झना ताजै छ, मेरो विवाहको भोलिपल्ट म अँगेनामा आगो फुक्दै थिएँ। भान्साकोठा पूरै धुँवामय थियो। आधा घण्टासम्म चुल्हो नबल्दा सासूआमाले चुल्ठोमा समाएर र्वाईं र्वाईं घुमाएको।

मेरो बिहे अलि ढिला भयो। १३ वर्ष भैसकेकी थिएँ। माइतमा हुँदा आमालाई भान्सामा सघाउँथेँ। चुल्हो बलेन भने एक बिर्को मट्टितेल खन्यायो, चुल्हो आफैं बल्थ्यो। ढुङ्ग्रीले फुकिरहनै नपर्ने। यही आइडिया घरमा पनि लगाउँला भन्ने सोचेँ तर मट्टितेल कतै भेटिनँ। चुल्होछेउ घ्युको भाँडा थियो, अलिकति के चुहाएकी सासूले थाहा पाइहालिन्। कन्चटको रौं कुन्नी कति तिनको हातमा आयो मलाई होशै भएन। 

‘हुन्न हुन्न, त्यसो नगर। दुलही सानी छे, विस्तारै सिक्ली’ ससुरा बाले बडो प्रेमपूर्वक भन्नुभयो।

‘दुलही घुंघट झार’ भन्दै बाहिर निस्किनुभयो।     

आफूभन्दा २ फिट लामो सारीको सप्कोले मुख छोप्दै म फेरि चुल्होतिर घोप्टिएँ। 

मेरो माइती खासै धनी थिएन, विवाह चाहिँ निकै धनी घरमा भएको थियो। ससुरा गाउँकै पञ्चायतमध्येको एक। मुखिया बा, मान्छे पनि भलाद्मी, सबैले मान्ने। ससुरा बाको ठ्याक्कै उल्टी मेरी सासू। घरमा गाई, भैंसीको कमी थिएन। विघौं विघा खेत, नोकर चाकर, कुनै राजा साहेब भन्दा कम होइन। त्यसैले मैले मेलापातमा धाउनुपरेन। तर भान्सामा चाहिँ मै खटिनुपथ्र्यो। सासू ससुरा वैष्णव, अरूले छोएको नखाने, त्यही भएर मलाई बिहे गराइदिएका अरे। तिनलाई भात पकाउन।

बिहे भएको अलिदिनपछि श्रीमानको पढाइ सुरू भयो। बिहे गर्न भनि मात्र आउनु भएको रहेछ। बनारसमा संस्कृत विद्यालयमा पढ्नुहुन्थ्यो उहाँ। ठूला ठूला वेदहरू पढ्ने गर्नुहुन्थ्यो। बाले परीक्षा लिनुहुन्थ्यो, मन्त्र भन्न लगाउनुहुन्थ्यो, पछि ती श्लोकका अर्थ पनि भन्नुपथ्र्यो उहाँले। उहाँ पनि निकै उत्सुक भएर कण्ठै पारेका श्लोक भाका हाली हाली सुनाउनुहुन्थ्यो। 

‘स्याबास ! भोलि तैंले भागवत महापुराण भन्नु छ, त्यसैले खुब मेहनत गरेस्।’

‘हवस्’ उहाँले टाउको झुकाउनुभयो।

श्रीमान श्रीमतीको सम्बन्ध कस्तो हुन्छ म जान्दिनँ थिएँ। मैले उहाँसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा माइतमा आमाले सिकाउनु भएको थियो।

प्रकाशित मिति: : 2021-04-03 17:35:00

प्रतिकृया दिनुहोस्