दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ।

यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ।

न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ।

विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो। 

यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ। कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ। विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ।

प्रकाशित मिति: : 2021-04-04 06:54:00

प्रतिकृया दिनुहोस्