नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो।
सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गरेको योगदान सदा स्मरणीय रहने उल्लेख गरे।
स्व प्रधानाङ्ग विसं २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रियसभाको सदस्य र विसं २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका थिए।
विसं २०१७ मा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको सङ्घर्षका क्रममा उहाँ पक्राउ परी करिब एक वर्ष जेल जीवनसमेत व्यतित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापनसमेत गरेका स्व प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका थिए।