‘डिभोर्स’ गरेको भन्दै श्रीलंकाली सुन्दरीको ताज खोसियो

Photo - AFP
Photo - AFP

झुटो बोल्नुको नतिजा कस्तो हुन्छ, त्यो भर्खरै श्रीलंकामा आयोजना भएको ‘मिसेस श्रीलंका वर्ल्ड–२०२१’ कि विजेता पुस्पिका डि सिल्भालाई सोध्दा हुन्छ।

उनको एउटा झुट समातिँदा उनले जितिसकेको उपाधिबाट बिमुख हुनुपरेको छ।

श्रीलंकको राजधानी कोलम्बोको नेलुम पोकुना महेन्द्रा राजापाक्षे थिएटरमा गत आइतबार ‘मिसेस श्रीलंका वर्ल्ड–२०२१’ को आयोजना भएको थियो। जसको उपाधि पुस्पिकाले जितेकी थिइन्।

तर, उनीविरूद्ध उजुरी प-यो। यसपछि सन् २०२० कि विजेता कारोलिन जुरीले उनलाई लगाइसकेको ताज खोलेर पहिलो रनर–अपलाई लगाइ दिएकी थिइन्।

उनले बिहेपछि श्रीमानसँग पारपाचुके गरेको बताइएको छ। प्रतियोगिताको नियमअनुसार पारपाचुके गरेको महिलाले यो प्रतिस्पर्धामा भाग लिन पाउँदैनन्।

‘म अझै विवाहितै छु,’ पुस्पिकाले आफ्नो फेसबुकमा सोमबार लेखेकी थिइन्।’ पूर्व सुन्दरी जुरीले प्रतिस्पर्धाको नियम सुनाउँदै पुस्पिकालाई भनिन्, ‘विवाह गरेकै हुनुपर्ने र डिभोर्स नभएको हुनुपर्ने नियम छ।’

पुस्पिकाले आफू अयोग्य भएको भए सुरुमै प्रतियोगिताबाट निकालिसक्नुपर्ने थियो भन्दै असन्तुष्ट जाहेर गरेकी छिन्। उनले आफूमाथि भएको अन्याय र बेइजतीविरूद्ध कानुनी कार्यवाही गर्ने धम्की दिएकी छिन्।

मिसेस श्रीलंका वर्ल्डकी राष्ट्रिय निर्देशिका चन्डिमल जयासिङ्गेले टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुस्पिकालाई ताज फिर्ता गरिने बताएकी छिन्।

उनले पारपाचुके गरेको कुनै तथ्य नभेटिएको पनि स्पष्ट पार्न खोजेकी छिन्। तर, उनलाई पुनः ताज फिर्ता गरिएको पुष्टि भएको छैन।

पुस्पिकालाई श्रीलंकाली प्रधानमन्त्री महेन्द्र राजापाक्षेकी श्रीमती सिरान्थी राजपाक्षे, कोलम्बोकी मेयर रोसी सेनानायके र जयसिङ्गेले नै मिलेर ताज पहिराएका थिए।

प्रकाशित मिति: : 2021-04-06 14:47:00

प्रतिकृया दिनुहोस्