३७ आरोही समूहले लिए हिमाल आरोहणको अनुमति

कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन्।

 महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ। यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ।

सगरमाथाका १८ सहित ३७ आरोही समूहका ३०३ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि मात्रै १८ आरोही समूहले अनुमति लिएको छ। हालसम्म सगरमाथाको १८ आरोही समूहसहित ३७ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ। विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ।

कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ।

बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ। नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ। रासस

प्रकाशित मिति: : 2021-04-06 21:47:00

प्रतिकृया दिनुहोस्