चित्रमा भविष्य खोज्दै सोनिका

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ निवासी १८ वर्षीया सोनिका मल्लले सानै उमेरमा चित्र कोरेर त्यसैमा आफ्नो भविष्य देखेकी छन्।

सानै उमेरबाट चित्रकला क्षेत्रमा रुचि राख्दै आएकी मल्लले विगत दुई वर्षयता विभिन्न क्षेत्र र विषयका चित्र कोर्दै आएकी छन्। ‘‘चित्र कोरेर नै आफ्नो जीवन निर्वाह गर्ने योजना बनाएकी छु’’, उनले भनिन्, ‘‘चित्र कोरेर जीविकोपार्जन गर्ने कलाकारहरु कमी देखिए पनि आफू व्यावसायिक रुपमा अघि बढ्ने अठोट गरेकी छु।’’ 

पछिल्लो समय चित्र कोरेर भविष्य देख्ने चित्रकारहरु खासै नभेटिए पनि आफ्नो भविष्यको सपना यसैलाई बनाएको उनले बताइन्।

‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ मल्लले सानै उमेरदेखि चित्रकला क्षेत्रमा रुचि राख्दै आएकी छन्। शुरुमा चित्र बनाउँदा कसरी चित्र बनाउने भनेर चिन्ता लाग्ने गरेपनि अहिले धेरै सहज भएको उनी बताउँछिन्।  

चित्रकला जीवनयापनको महत्वपूर्ण क्षेत्र रहेकाले सामाजिक सञ्जालमा रहेका भिडियो हेरेर आफूले चित्र कोर्न सिकेको चित्रकार मल्लले बताईन्।

उनले सिक्दै गरेको अवस्थामा पनि चिनेका या नचिनेका व्यक्तिको समेत आफ्नो चित्र बनाइदिन आग्रह गर्ने गरेकाले आफूले जानेको सीप लगाएर चित्र बनाउने गरेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: : 2021-04-07 21:15:00

प्रतिकृया दिनुहोस्