मुवाँथाइका कविन क्वाटरफाइनलमा

नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे। सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका सुनिल कुँवर, एपीएफका रोशन अछामी, सेनाका धर्मेन्द्र राम, एपीएफका संगम विक, मुवाँथाइका मेम्पा तामाङ र छम्पीका राजेन्द्र लामा पनि क्वाटरफाइनलमा पुगे।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भइरहेको प्रतियोगिताको पुरुष ५५ केजीमा मुवाँथाइका दावा कुन्जे शेर्पा, उसुका कृष्ण खड्का, नेसनल किक बक्सिङका हरि मिजार, एपीएफका रोहित सुनार, आयोजक ललितपुरका गणेश लोहार, नेसनलका मनोज राना मगर, भक्तपुरका सिरुष भुजु र एपीएफका तीर्थराज थापाले क्वाटरफाइनल यात्रा तय गरे।



हेल्प नेपाल र डायमण्डलाई उपाधी

धरानकी रामकुमारी सेमिफाइनलमा



पुरुष ६० केजीमा मुवाँथाईका अब्राहम, एपीएफका निशान दास, सेनाका कमल आचार्य, पोखराका सञ्जय परियार र एपीएफका मंगलप्रसाद थारु क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे।

आकर्षक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङ, सेनाकी नविना घलान, सेनाकै मनीषा प्रधान र एपीएफकी कमला बोहराले सेमिफाइनलमा स्थान सुरक्षित गरे। महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर, सेनाकी शान्ति थापा र एपीएफकी सरु सोतीले सेमिफाइनलमा स्थान बनाए।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रत्येक स्पर्धाका पदक विजेता, शीर्ष तीन स्थानमा रहने टिम र उत्कृष्ट पुरुष÷महिला खेलाडी गरी कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन्।

पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धा समावेश प्रतियोगिता शनिबारसम्म चल्ने छ।

प्रकाशित मिति: : 2021-04-08 20:43:00

प्रतिकृया दिनुहोस्