चीनको आयात, निर्यात बढ्यो

चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ। 

मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ।

पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिड विरुद्धका प्रतिबन्धहरु खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाई छ।

चीनको आयातमा पूर्वानुमान गरेझैं अघिल्लो वर्षको तुलनामा ३८.१ प्रतिशतले वृद्धि भएको छ। 

यसै वर्षको जनवरी र फेब्रुअरीमा २२.२ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरी यताकै यो सबैभन्दा ठूलो वृद्धि हो।

निर्यातमा पनि ३०।६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो। यद्यपी ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो। 

चिनियाँ भन्सार प्रशासनको तथ्याँकमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ। संयुक्तराज्य अमेरिकासँगको व्यापार बचत पनि अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भई २१.४ अर्ब डलर पुगेको छ। एएफपी

प्रकाशित मिति: : 2021-04-13 16:02:00

प्रतिकृया दिनुहोस्