युवकबाट युवती बनेकी ज्याज: जसको कथा पढ्न विश्व समुदाय लालायित छ (भिडियाे )

महान व्यक्ति त्यो हो, जो हरेक कुरासँग लड्न सक्छ।

सबै कुरालाई तौलिन सक्छ। राम्रो र नराम्रोबीचको भेदलाई छुट्याउन सक्छ। यस्ता व्यक्ति परिस्थितिअनुरुप ढल्न सक्छन्। तीतोभन्दा तीतो कुरालाई स्वीकार्न सक्छन्। आफैमा सहानुभूति राख्छन् र साहसका साथ जीवनलाई अगाडी बढाउन सक्छन्।

यसको सानो उदाहरण हो, पारालैङ्गिक (ट्रान्सजेन्डर) युवती ज्याज जेनिङ्स। जो रियलिटी शोकी स्टार र ट्रान्सजेन्डर अभियन्ता हुन्।

उनी ६ वर्षको उमेरमा एक अन्तर्वार्तामार्फत सबैको अगाडी सार्वजनिक भएकी थिइन्। अन्तर्वार्ता बार्बरा वाल्टर्सले लिएकी थिइन्, जुन ट्रान्सजेन्डर बच्चाहरूको बारेमा थियो।

ज्याजको जन्म ६ अक्टोबर २००० मा फ्लोरिडामा भएको थियो। उनको जन्म एउटा बालकको रुपमा भएको थियो। तर पाँच वर्ष पुग्दा नपुग्दै उनलाई महसुस भयो कि शारीरिक रुपमा उनी पुरुष भएर जन्मिए पनि उनीभित्र असिमित नारीको संवेदना लुकेको छ। यसैले उनले आफ्नो लिंग परिवर्तन गर्ने अठोट गरिन्।

सुरुमा परिवारका सदस्यलाई आफ्नो मनभित्र लुकेको नारीत्वको विषय बुझाउन उनलाई धेरै गाह्रो भयो। यतिबेला उनले धेरै कष्ट र निराशा झेल्नुपर्यो। तर, पछि आमाबुवाले उनको संवेदना बुझे। उनले लिंग परिवर्तन गरेपछि आमाबुवा रिसाएनन्। बरु समाजको पर्वाह नगरी आफ्नो सन्तानलाई माया तथा हौसला प्रदान गरे।



क्यान्सरपीडित बालिकाको अठोट (भिडियोसहित)



हुर्किने क्रममा ज्याकले भावनात्मक र सामाजिक प्रतिकार धेरै गर्नुपर्यो। तर उनले ती सबै कुरालाई सकारात्मकता रुपमा ग्रहण गरिन्। यसलाई साहसका साथ पराजित गर्न सफल भइन्।

उनको कथा मिडियामा सर्वशुलभ छ। उनी सबै ठाउँका बच्चा र किशोरहरुमा आशा जगाउँछिन्। ज्याजले तेस्रोलिंगी तथा समलिंगीलगायत समुदायको लागि सक्रियता पनि देखाउने गरेकी छिन्। आफूले भोगेका कठोर अनुभव पनि अरु सामु पुर्याउने गर्छिन्।

समलिंगी, उभयलिंगी र ट्रान्सजेन्डर युवाको गठबन्धनका लागि निर्देशक समितिको सदस्य नियुक्त क्रिस्टीन कन्लीले भनेकी थिइन्, ‘उनी पहिलो युवा हुन्, जसले देशव्यापी रुपमा सबैको ध्यान आकृष्ट पारिन्। टिभीमा प्राय: देखा परिन् र पूर्ण निर्दोषताका साथ आफ्नो कुरा र त्यसप्रति आफ्नो दृष्टिकोण व्यक्त गर्न सक्षम भइन्।’

ज्याज ‘ट्रान्सकिड पर्पल रेनबो फाउन्डेशन’ को सह–संस्थापक पनि हुन्, जुन उनी र उनको आमाबुवाले २००७ मा ट्रान्सजेन्डर युवाहरुलाई सहयोग पुर्‍याउन स्थापना गरेका थिए। २०१३ मा उनले ‘पर्पल रेनबो टेल्स’ पनि स्थापना गरेकी थिइन्, जहाँ ट्रान्सजेन्डर बच्चाको लागि पैसा जुटाउन ‘रबर मरमेड टेल’ बनाउँछिन्।

ज्याजले आफ्नो जीवनको बारेमा युट्युब भिडियोको श्रृंखला पनि होस्ट गर्ने गरेकी छिन्। जसको नाम ‘आइ एम ज्याज’ टीएलसी रियलिटी टिभी श्रृंखला रहेको छ।



जसको एउटा अभियानले अमेरिकाको स्कूलको नीति परिवर्तन भयो (भिडियो)



‘आइ एम ज्याज’ ले उनको जीवनमा भएको घटना, परिवारसँग बिताएको किशोरावस्था र ट्रान्सजेन्डर युवाको रूपमा आफूलाई केन्द्रित गर्छिन्। उक्त्त श्रृंखला १५ जुलाई २०१५ मा प्रीमियर भएको थियो।

ज्याजले स्टोनवाल राष्ट्रिय शिक्षा परियोजनाका निर्देशक जेसिका हर्टलसँग मिलेर एक बाल पुस्तक, ‘आई एम ज्याज’ को सह–लेखन पनि गरेकी छिन्। उक्त पुस्तकले ट्रान्सजेन्डर बच्चाको रूपमा उनको जीवनको विवरण दिन्छ।

लेस्बियन अधिकारहरूको लागि नेशनल सेन्टरद्वारा उनलाई सहायता प्राप्त भएपछि उनले ट्रान्स विद्यार्थीलाई खेल्न अनुमति दिन ‘युएसएसएफ’ को नीतिहरू परिवर्तन गर्न समेत सफल भएकी थिइन्।

सन् २०१४ मा ज्याज ‘ग्लाड मिडिया’ अवार्डमा पाहुना भएर गएकी थिइन्। सोहि वर्ष उनी टाइमद्वारा सबैभन्दा प्रभावशाली २५ किशोरकिशोरी मध्येमा समावेश भएकी थिइन् र सबैभन्दा कम उमेरका व्यक्तिको रूपमा मान्यता पनि प्राप्त गरेकी थिइन्।

२०१४ कै ट्रान्स १०० जनाको सूचीमा पनि उनलाई समावेश गरिएको थियो। यसका साथै उनले टिभीका धेरै व्यवसायिक बिज्ञापनमा मोडलिङ गरिसकेकी छिन् भने केहि छोटो फिल्ममा पनि देखा परेकी छिन्।

ज्याजमा आत्मविश्वासको कमि छैन। उनी सकारात्मकता जगाउने र ट्रान्ज युवाहरूमा आशा जगाउन सक्ने क्षमता राख्छिन्। उनीबाट हामी धैरै कुरा सिक्न सक्छौ। समुदायमा परिवर्तन ल्याउन र हरेक व्यक्तिमा सकारात्मक भावना जगाउन डराउनु हुँदैन र निडरताका साथ त्यसको सामना गर्नुपर्छ।

हामी चाहे जुनसुकै लिंगमा विभाजित किन नहोउ, समाजद्वारा स्वीकार्य तथा सम्मान पाउन लायक रहेको उनको भनाई छ। 

प्रकाशित मिति: : 2021-04-13 18:20:00

प्रतिकृया दिनुहोस्