डिभिजन वन कार्यालयको अनुमति नलिई धमाधम रुखहरु काट्ने क्रम अत्यधिक बढेको छ।
सामुदायिक वन समूहको सिफारिसमा डिभिजन वन कार्यालयले टाँचा लगाएर नापजाँच गरेर मात्र रुख कटान गर्न पाइने व्यवस्था भए पनि त्यो अहिलेसम्म कार्यान्वन हुनसकेको छैन।
सामुदायिक वन समूहले आफैँ रुख कटान गर्ने अनुमति दिएर जथाभावी रुख कटान हुँदै आएको छ। डिभिजन वन कार्यालयमा अहिलेसम्म रुख कटानका लागि अनुमति माग्न कोही पनि नआएको डिभिजन वनको भनाइ छ।
काठ कटान गरेर बाहिर लिएर बिक्री गर्ने ठूला ठेकेदारबाहेक घर निर्माण गर्ने स्थानीयवासीलाई सामुदायिक वनहरूले आफूखुसी पूर्जी वितरण गरी रुख काट्ने अनुमति दिँदै आएका छन्।
सामुदायिक वन समूहले अधिकार क्षेत्र बाहिर गएर रुख कटान गर्ने अनुमति दिनु आफैँमा वन फडानीको शुरुआत भएको वन कर्मचारीहरु बताउँछन्। केही सामुदायिक वनले फोनकै आधारमा समेत रुख काट्ने अनुमति दिएको पाइएको छ।
वन जङ्गल जोगाउनेभन्दा पनि तस्कारसँग मिलेर मोटो रकम असुल्ने गरेको नलगाड नगरपालिका–८ का खिमबहादुर खत्रीले बताए। अहिले अधिकांश ठाउँमा सामुदायिक वनमा आगो लगाउनेसमेत सामुदायिक वन समूहका मान्छे भएको उनले आरोप लगाए।
सामुदायिक वन समूहका पदाधिकारीहरु जङ्गल फडानी गर्न भित्रभित्रै उक्साएर रकम असुल्ने गरेको समेत उनले बताए। डिभिजन वन कार्यालयमा सीमित कर्मचारी हुँदा सबै ठाउँमा निगरानी हुन नसक्नुुले सामुदायिक वन फडानी हुन थप मद्दत पुगेको छ।
वनजङ्गल जोगाए के हुन्छ र नजोगाए के हुन्छ भन्ने सामान्य ज्ञान सामुदायिक वन समूहका पदाधिकारीलाई थाहा नभएको समेत विभिन्न अन्तरक्रियामा विचार प्रकट हुने गरेको छ। यता डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठ प्रचारप्रसार व्यापक गरिएको र सचेतनाका काम जारी रहेको बताउछन्।