चोरी भएका मोटरसाइकल फिर्ता

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारीसाधन चोरी घटना नियन्त्रण तथा त्यसमा संलग्न  व्यक्तिलाई कारवाहीको प्रक्रिया तीव्र पारेको छ।

सोही क्रममा महाशाखाले चोरिएका २६ मोटरसाइकल खोजतलास गरी फेला पारेर आज धनीलाई बुझाएको छ। ती मोटरसाइकल काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा धादिङ, चितवन, मकवानपुर र बाराबाट चोरी भएको थियो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकलको कागजात धनीलाई हस्तान्तरण गर्दै सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए। उनले मोटरसाइकल एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको र चोरी भएपछि नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाइ बेचबिखन गर्ने गरेको पाइएको जानकारी दिए।

ट्राफिक प्रहरीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल खोज्ने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाउने गर्दछन्।

अन्य अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाउनुका साथै चोरीमा संलग्न ४७ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महशाखाले जनाएको छ।

प्रहरीले चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर वा अनलाइन सेवा लस्ट भेहिकल एप्लीकेशनमा मा लग इन गरेर निवेदन दिने सकिनेछ। 

प्रकाशित मिति: : 2021-04-15 19:35:00

प्रतिकृया दिनुहोस्