निलांशीले काटिन विश्वको सबैभन्दा लामो कपाल  

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा लामो कपालबाट परिचित भारतकी निलांशी पटेलले आफ्नो कपाल काटेकी छिन्।

उनले १२ वर्षपछि आफ्नो कपाल काटेकी हुन्। गिनिज बुकले आफ्नो फेसबुक पेजमा पनि उनले कपाल काटेको कुरालाई प्रमुखताका साथ छापेको छ। उनको भिडियो क्लिप्समा ३२ हजार मानिसले तत्कालै प्रतिक्रिया जनाएका थिए।

२०१८ मा निलांशीको कपालको लम्बाई १७० दशमलव ५ सेन्टिमिटर थियो। पछि उनले कपाल अझै बढाइन्। गत वर्ष उनको कपालको लम्बाई १९० सेमी अर्थात ६ फिट २ दशमलव ८ इन्ची थियो। कपाल काट्ने बेला यो बढेर ६ फिट ६ दशमलव ७ इन्च भएको थियो।

उनी गुजरातको अरवल्ली जिल्लाको मोडासामा बसोबास गर्छिन।

गिनिज बुकले निलांशीले कपाल काट्दै गरेको भिडियो पनि जारी गरेको थियो। गिनिज बुकले यति लामो कपाल काट्नुको उद्देश्य बताउँदै भनेको छ, ‘निलांशीको आमा कामिनीबेन छोरीको कपाल च्यारिटीलाई दिन सुम्पिन चाहन्छिन्।’

निलांशीले अमेरिकाको एउटा म्युजियम तथा हलिउडको गिनिज वर्ल्ड रेकर्ड म्युजियममा आफ्नो कपाल राख्न चाहेको बताएकी छिन्।

प्रकाशित मिति: : 2021-04-16 18:56:00

प्रतिकृया दिनुहोस्