डरलाग्दो ग्राफ, अझै अन्यौलमा सरकार

दिपा दाहाल

काठमाडाैं

कोरोना महामारीमा दोस्रो जीवन पाएको अनुभव पुनः त्रासमा बदलिएको छ। आफ्ना खुसी र सपना भुलेर जीवन रक्षाको एक मात्र संघर्षमा उत्रिएकाहरुलाई दोस्रो लहरको कोरोनाले थप चुनौति दिने स्पष्ट संकेत देखिएको छ।

कोरोना नियन्त्रण हुँदै गर्दा सामान्य जीवन सुरुवात गरेकाहरुलाई खासगरी चैतको दोस्रोसातादेखि पुनः उकालो लागेको कोराना संक्रमित र मृत्युको ग्राफले आतंकित बनाउन थालेको छ। यसबाट नागरिक जति त्रसिद छन्, त्यहि अनुपातमा यसको व्यवस्थापनमा परिचालित सरकारी अधिकारीहरुमा छट्पटी बढेको छ। वास्तवमा अझै अन्यौलम छन् उनीहरु।

आइतबार टेकुस्थित स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा पुग्दा त्यो स्पष्ट हुन्थ्यो। महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेल एक किसिमको तनावमा थिए। ‘भारतमा कोरोना जसरी बढ्दैछ। त्यसरी नै नेपालमा बढ्दैछ। कसरी नियन्त्रण गर्ने?’, उनले प्रश्न गरे। अति व्यस्त देखिएका उनले थप भने,‘कोरोनाको ग्राफ माथि उक्लिदै छ। पहिलेको भन्दा धेरै फैलिने देखिन्छ। नयाँ प्रजातीको संक्रमण अझै डरलाग्दो छ। परीक्षण, उपचार र नियन्त्रणलगायत पक्ष महत्वपूर्ण छन्। हामी त्यसमै घोत्लिएका छौँ।’

पौडेलका अनुसार दोस्रो लहरमा धेरैजसो पुरानै र केही नयाँ प्रजातीका संक्रमण फैलिएका छन्। यसको चपेटामा सबै उमेर समूहका मानिस परेका छन्। तर बालबालिकामा बढेको कोरोनालाई लिएर चिन्ता बाक्लिएको छ।

आइतबार नै नेपाल पेडियाट्रीक सोसाइटीले नेपालमा परीक्षण गरिएका स्वावहरुमा १० प्रतिशत भन्दा बढी बालबालिकामा संक्रमण पुष्टि भएको र यो पहिलेको तुलनामा बढी भएको भन्दै उनीहरुको जीवन रक्षामा गम्भीर हुन सरोकारवालाको ध्यानाकर्षण गराएको छ। साथै राष्ट्रिय मानवअधिकार आयोगले पनि यो बेला बालबालिकाको सवालमा गम्भीर बन्न सरकारको ध्यानकर्षण गराएको छ आइतबार नै।

प्रकाशित मिति: : 2021-04-19 06:24:00

प्रतिकृया दिनुहोस्