बाँकेको नेपालगञ्जमा एक साता लकडाउन

Photo - daobanke.moha.gov.np
Photo - daobanke.moha.gov.np

बाँकेको नेपालगञ्ज क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ।

कोरोना संक्रमण तिव्र भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज क्षेत्रमा आज (बुधबार) मध्यरात १२ बजेदेखि आगामी वैशाख १५ गते मध्यरातसम्म लकडाउन घोषणा गरेको हो।

यस अवधिमा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्था, पसल, व्यवसाय तथा हिँडडुलमा समेत रोक लगाइएको छ।

दैनिक उपभोग्य वस्तुमध्ये तकारी, खाद्यान्न, दूध तथा ग्यासका पसलहरु भने बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछन्।

‘कोरोना संक्रमण फैलावटको सांग्लो तोड्न र सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०१/०६ को आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० बमोजिम बाँके जिल्लाको उच्च जोखिम रहेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर मिति २०७८ वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म देहाय अनुसारका अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गर्ने,’ प्रशासन कार्यालयबाट जारी आदेशमा भनिएको छ।

प्रशासन कार्यालयका अनुसार नेपालगञ्ज क्षेत्रमा मात्रै ७३५ जना सक्रिय संक्रमित पुगिसकेका छन्।

कोरोनाको नयाँ भेरिएन्टसमेत देखिएको र अस्पतालसमेत भरिभराउ भएकोले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकको सिफारिसका आधारमा यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार गेलालले बताए।

मंगलबार केन्द्रले बिहीबारदेखि ७ दिन लकडाउन गर्न सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2021-04-21 14:29:00

प्रतिकृया दिनुहोस्