मुलुकमा कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संसदीय समितिले अनुगमन गर्ने भएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले कोभिड–१९ नियन्त्रण कार्यक्रमको प्रभावकारीतासँगै सुशासन र अन्य जनजीवनमा प्रभाव पार्ने विषयमा अनुगमन हुने समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
“अहिलेको जटिल परिस्थितिमा हामी पन्छिन मिल्दैन, आवश्यक मापदण्ड अपनाएर जनतालाई अभिभावक छ भन्ने अनुभूति गराउनुपर्छ”, बैठकको निष्कर्षबारे बताउँदै श्रेष्ठले थपिन्, “कोभिडका बेलामा कृत्रिम अभाव सिर्जना गर्ने, मिति सकिएका सामग्री बिक्री गर्ने, कालाबजारी गर्ने महङ्गी बढाउने लगायतका विषयमा अनुगमन गर्छौं।”
यसपटक मुख्यगरी काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट अनुगमन शुरु हुने उनले जानकारी दिइन्। त्यसपछि आवश्यकतानुसार अनुगमन हुने जनाइएको छ।
अनुगमनमा सीमित जनप्रतिनिधि सहभागी हुने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइने छ। उनले यस्ता विषयमा जनप्रतिनिधि, सरकार तथा सरकारी निकाय जस्तो सुकै अवस्थामा पनि दायाँबायाँ लाग्न नसक्नेसमेत बताए।