इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ।
अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो। पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७ रन जोडे। यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए। आन्द्रे रसेल १० रनमा आउट भए।
पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।
पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए। लोकेश राहुल र निकोलस पुरणले समान १९/१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए।
कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए। सुनिल नारिन र पाट कुमिन्सले २/२ विकेट लिए। जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ। कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ।
पन्जाबको ६ खेलमा ४ अंक छ। पन्जाब छैटौं स्थानमा रहेको छ।