सल्यानमा वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ।
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र सल्यानको सिफारिस अनुसार सल्यानका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण सार्बजनिक तथा निजि सवारी साधनहरु संचालन पूर्णरुपमा रोक लगाइने छ।
बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खाद्य सामाग्री, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई संचालन गर्न सकिनेछ प्रशासन जनाएको छ।
अत्यावश्यक सवारी सञ्चालनका लागि पास जिल्ला प्रसासन कार्यालयबाट लिनु पर्नेछ। बिवाह, बर्तबन्ध जस्ता कार्य गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर १५ जनासम्म हुनेगरी सम्पन्न गर्न सकिनेछ।
कार्यालयमा कर्मचारीहरु आलोपालो गरेर संचालन गर्ने र अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवा हाललाई बन्द गरिनेछ।
सरकारी कर्मचारीलगायत सार्बजनिक सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीहरुलाई परिचय पत्र वा जिल्ला प्रशासन कार्यालयको पासले आवात जावात गर्न सकिनेछ।
जिल्ला अस्पताल खलंगामा २० बेडको आइसोलेसन एवम् कोरोना उपचार कक्ष निर्माण गर्ने भएको छ।