नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलाई ६ बुँदे ध्यानाकर्षण गराएका छन्।
शुक्रबार समाजिक सञ्जालमार्फत उनले कोभिडको विश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएकाले यसको उपचारका लागि आईसीयु,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भएर उपचारमा गम्भीर समस्या पैदा भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको नेता शर्माले बताएका छन्।
उनले भनेका छन्, ‘देशका कतिपय अस्पतालमा ओपिडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु।
यस्ता छन् ६ बुँदे ध्यानाकर्षण:
१) देश भरका सरकारी तथा नीजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने। अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७० प्रतिशत कोभिड उपचारको लागि छुट्याउने।
२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि(Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने। सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने।
४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने।
५) आइसियु डकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इक्युपमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने।
६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने।