सभामुख अग्नि सापकोटाले श्रमिक वर्गमा कोभिड–१९ ले निम्त्याएको कठिन परिस्थितिमा श्रमिक वर्गको लागि विशेष राहतका कार्यक्रम ल्याउन सरकारकाे ध्यानाकर्षण गराएका छन्।
१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नु परेको अवस्थमा राज्यका तर्फबाट श्रमजीवी वर्गको लागि विशेष राहत ल्याउन अवश्यक रहेको बताएका हुन्।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण दैनिक छाक टार्न मजदुरी गरेर जीविकोपार्जन गरिरहेका असंगठित र संगठित क्षेत्रका श्रमिकहरुले रोजगारी गुमाउनु परेको छ।
सभामुख सापकोटाले भने,‘यो क्रम अझै भयावह बन्दै छ, सरोकारवाला सबैले श्रमिक वर्गका हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास लिएको छु।’
सभामुख सापकोटाले लोकतन्त्र, अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको कदर गर्दै श्रमिक प्रति सम्मान प्रकट गरेका छन्।