नरेश शाहीको प्रश्न, 'कहाँ छ केपी सरकार ? 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन, रोकथाम गर्नमा सरकार असफल रहेको आरोप लगाएको छ। 

युवा संघका अध्यक्ष नरेशकुमार शाहीले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट पीडितहरुको उद्धार, उपचारका साथै उनीहरुलाई दिनुपर्ने सेवा सुविधान सरकारले उपलब्ध गराउन नसक्नु दुखद् भएको जनाएका छन्।

‘बाँके, दाङ्ग, रुपन्देही लगायतका जिल्लाहरुमा बिरामीहरुले अस्पतालमा बेड नपाएर भुँइ र चौरमा उपचार गराउनु परेको भयावह अवस्था सृजना भैसकेको छ। देशका अधिकांश स्थानका आइसियु बेडहरु बिरामीको चापले भरिसकेका छन्। देशभर अक्सिजन सिलिन्डरको अभावमा बिरामीहरुले ज्यान गुमाउनु परेको छ। यो भयावह दृष्य हेर्दा यहाँ सरकार छ र? भन्ने आमजनमानसको मानसपटलमा प्रश्न उब्जिरहेको छ’, शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कोभिडको भ्याक्सिन केहि मात्रामा उपलब्ध भएता पनि त्यसको असमान वितरणले शहरी क्षेत्रका पहुच हुनेहरुले मात्र भ्याक्सिन लगाउन पाएका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले पर्याप्त सुरक्षा सामग्रीको अभावका कारण अत्यन्त जोखिमयुक्त अवस्थामा आफ्नो जिम्मेवारी निर्वाह गर्नु परेको संघको निष्कर्ष रहेको छ।

कोभिड नियन्त्रणको नाममा निम्न वर्गका नागरिकहरुले रोजगारी गुमाउनु परेको छ। दैनिक ज्यालादारी अर्थात मजदुरी (गरीखाने) विपन्न वर्गलाई टट्कारो असर गरिरहेको छ। व्यापार व्यावसाय बन्द हुँदा साना र मझौला व्यावसायमा संलग्नहरुले ठुलो क्षति व्यहोर्नु परेको छ। भारतलगायतका देशहरुमा हजारौंको संख्यामा नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन्।

शैक्षिक गतिविधि अस्तव्यस्त भएको छ। शिक्षामा सम्पन्नहरुले आफ्ना बालबालिकालाई अनलाइन कक्षा मार्फत पढाइ सुचारु गराइरहेका छन् भने निम्न बर्ग र ग्रामीण क्षेत्रका नागरिकहरुमा त्यो सुविधाको अभाव रहेको हुँदा त्यसले बालबालिकाको पढाइमा अत्यन्त नकारात्मक असर सृजना गरेको छ। बजारमा कालोबजारी र मुल्यबृद्धि आकाशिएको संघले जनाएको छ।

‘लकडाउन मात्रै स्थायी समाधान हुन सक्दैन। लकडाउन गर्नु भनेको सरकारले आफनो दायित्व र प्रभावकारी व्यवस्थापनवाट पन्छिने उपाय बाहेक अरु होइन। सम्पुर्ण व्यवसायहरु सुरक्षित रुपमा संचालन गर्न सक्ने वातावरणको निर्माण गरियोस्’, सरकारसंग संघले माग गरेको छ।

अहिलेको संकटपूर्ण परिस्थितिको अन्त्यका लागि हाल अस्पतालमा रहेको आइसियु बेड बढाउन तथा अक्सिजनको उपलब्धताको प्रर्याप्त ब्यवस्था मिलाउन, उपलब्ध भएको सेवासुविधालाई प्रभावकारी बनाउन यसको नियमन गर्न, नीजि अस्पतालहरुलाई कोभिड १९ अस्पतालको रुपमा विकास र रुपान्तरण गर्न र हाल कोभिड उपचार हुदै आईरहेका अस्पताललाई चुस्त व्यवस्थापन गरी आम नागरिकको स्वास्थ्यमा ध्यान दिन सरकारसंग माग गरिएको छ।

‘यस्तो संवेदनशिल अवस्थामा नेपालको सरकार अत्यन्त गैरजिम्मेवार देखिएको छ। यो सरकारले तल्लो तहका नागरिकको जिवन रक्षाको लागि कुनै योजना तर्जुमा गर्न सकेको छैन। स्वास्थ्य क्षेत्रमा सरकारको कमजोर उपस्थितिले अवस्था अझ जटिल बन्दै गएको छ। शिक्षा क्षेत्रमा सरकार दिशा विहिन देखिएको छ’, संघका अध्यक्ष शाहीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बजार पुर्ण रुपमा कालोबजारीको नियन्त्रणमा पुगेको छ। भ्रष्टाचार र कुशासन बढ्दो छ। निशेधाज्ञा र लकडाउन कोभिड विरुद्धको संघर्षका अन्तिम रणनितिहरु हुन्। गैरजिम्मेवार र असक्षम सरकार आफ्ना कमजोरी लुकाउन अन्य कुनै योजना र रणनीति विना निशेधाज्ञा र लकडाउनको साहरा लिन पुगेको छ। यसले सृजना गर्ने कठिन अवस्थाबाट सरकार बेमुख हुन खोजेको छ।’

कोभिड बिरामीको उपचारको लागि आईसियु, भ्यान्टिलेटर, अक्सिजनको पर्याप्त मात्रामा अविलम्ब व्यवस्था गर्न एवं कोभिड १९ का आम बिरामीको पूर्ण उपचारको व्यवस्था गर्न माग गर्दै संघले स्वास्थ्य कर्मी एवं सुरक्षाकर्मीहरु स्वयम्लाई कोभिड सुरक्षाको विशेष व्यवस्था गर्न, सेवा र सुविधा थप गर्न एवं प्रोत्साहन भत्ताको विशेष व्यवस्था गर्न माग गरेको छ।

लकडाउनको कारण र सरकार (प्रशासन)को उदासिनता र गैरजिम्मेवारिपनले मजदुर एवं अत्यावश्यक कामले घर बाहिर निक्लिनु पर्ने यात्रुहरुले हदै सम्मको दुःख र सास्ती भोगीरहेका छन्। गरिब, किसान, मजदुर एवं अत्यावश्यकीय कामले घरबाहिर जाने यात्रुहरुलाई आवागमनको व्यवस्था गर्न वा आवागमनमा सहजता बनाउन सरकारसंग संघले आग्रह गरेको छ।

कोभिडको कारणले आक्रान्त बनेको अथवा धरासायी बनेको साना तथा मझौला व्यवसायिक क्षेत्रहरु (जस्तैः होटेल तथा रेष्टुरेण्ट, होस्टेल तथा पार्टी प्यालेसहरु, बैदेशिक रोजगार तथा अध्ययनका क्षेत्रहरु, शैक्षिक क्षेत्र, होजियारी तथा गार्मेन्ट, कृषि बस्तु उत्पादन तथा आपुर्तिका क्षेत्रहरु) लाई राहात तथा सहयोगको प्याकेज घोषणा तत्काल गर्न माग गरिएको छ।

नाकाहरु खासगरी भारतसंगका नाकाहरु व्यवस्थित गरियोस् र भारतमा रहेका नेपालीहरुको उद्धार गरी स्वदेशमै तिनीहरुको कोभिड परिक्षण र क्वारिन्टाइनमा बस्ने व्यवस्था गर्न माग गर्दै संघले केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुले अनिवार्य कोभिड परिक्षण र प्रयाप्त मात्रामा व्यवस्थित क्वारेन्टाइन निर्माण गरी अनिवार्य क्वारेन्टाइन बस्ने व्यवस्था गर्न आग्रह गरेको छ।

कोभिड १९ सम्बन्धिका गतिविधीहरुमा हुने भ्रष्टाचार, अनियमितता, ढिलाशुस्ती एवं यस समस्याको संकटमा हुने कालाबजारी तथा तस्करी र माफियागिरीको पूर्ण नियन्त्रण तथा कडा कारवाही गर्न संघले आवाज उठाएको छ।

उपलब्ध कोभिड १९को भ्याक्सिनको समान वितरण सुनिश्चित गर्न र आम व्यक्तिलाई उपलब्ध हुने गरि आवश्यक परिणामको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग संघले माग गरेको छ।

प्रकाशित मिति: : 2021-05-02 17:54:00

प्रतिकृया दिनुहोस्