पोखरेलले अपनाए टिकाउ हुने सूत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्।  मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१ सांसदमध्ये ४१ जनाको हस्ताक्षरसहित पुगेपछि एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

लुम्बिनीमा ८७ सांसदमध्ये ६ जनाको पद रिक्त छ। माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको पद खोसिएको हो। ६ सांसदको पद रिक्त हुँदा एमालेले संविधानको धारा १६८ (१) बमोजिम बहुमतको सरकार बनाएको हो।

कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्तावबारे छलफलकै दिन ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पोखरेलले राजीनामा दिएका हुन्। यसअघि दुई दलको बहुमतका आधारमा पोखरेल मुख्यमन्त्री बनेका थिए। माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गर्दै समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए। तब उनले जसपाका चार सांसदलाई वैशाख ६ गते सरकारमा भित्र्याउँदै बहुमत जुटाएका थिए।

प्रकाशित मिति: : 2021-05-03 08:34:00

प्रतिकृया दिनुहोस्