नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ। शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ।
बुटवल लिगको तेस्रो स्थानमा रहेको छ। काठमाडौँविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ। प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ। काठमाडौँसितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ।
जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो। यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो। दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो।
यसैगरी काठमाडौँ रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ। काठमाडौँले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ। पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो। दोस्रो खेलमा काठमाडौँ धनगढीसँग पराजित भएको थियो। तेस्रो खेलमा काठमाडौँले पोखरासित बराबरी खेलेको थियो।
बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौँ लिगको शीर्ष तीनमा उक्लिनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ। रासस