सुन्दरहरैंचामा सकेसम्म मानवीय क्षति हुन दिन्नाैं – मेयर ढकाल

काेभिड १९ काे नयाँ भेरियन्टबाट नगरवासीमा कुनै क्षति हुन नदिन मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरमा एक सय शैंयाको होल्डिङ सेन्टर तयार गरेको छ।

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरको दुर्गादेवी दूलाल सुन्दरहरैंचा स्पोर्टस ग्राम सलकपुरमा ६५ शैंया र सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा ३५ शैंयाको होल्डिङ सेन्टरको व्यवस्था गरिएको जानकारी दिए। 

ढकालले पत्रकार सम्मेलनमा कोभिडका कारण कुनै पनि नगरवासीले ज्यान गुमाउनु नपरोस भनेर सम्पूर्ण पूर्वाधार तयार गरिरहेको बताए। 

१०० शैंयाले अपुग भए सिग्देल बन्धु प्रतिष्ठान, मङ्गल स्मृति सामूदायिक जेसीज भवन र हरैंचा सामूदायिक भवनलाई होल्डिङ सेन्टरका रुपमा तयार राखिएको उनको भनाइ छ। 

नगर प्रमुख ढकालले भने, 'एकद्वार प्रणालीबाट सुन्दरहरैंचा –८ को कवर्ड हलमा शंकास्पद विरामीकाे स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।'

नगरवासीको निशुल्क स्वाब परीक्षण गर्ने र एउटा एम्बुलेन्स २४ घण्टा बिरामीको सुविधाका लागि निशुल्क व्यवस्था मिलाएको उनले बताए। 

होल्डिङ सेन्टरमा १ सय थान अक्सिजन सिलिण्डरको व्यवस्था गरिने बताउँदै उनले भने, 'सकेसम्म हामी कुनै नगरवासीलाई मर्न दिँदेनौं।'

भवितव्य मृत्यु भइहाले शव बाहनकोसमेत व्यवस्था गरिएको उनले सुनाए। सुरक्षाका लागि प्रहरीलाई आवश्यक पर्ने सबै सुविधा नगरले व्यवस्थापन गर्ने उनको भनाइ छ। 

कोभिड व्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मीलाई विशेष सुविधा र बीमाको व्यवस्था नगरले व्यहोर्ने भन्दै उनले भने, 'थप उपचारको आवश्यक परे  पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेशनमा पठाइनेछ।' विश्व विद्यालयसँग समन्वय भइरहेको उनले बताए। 

नगरपालिका दूध, मासु, माछा र तरकारीमा पूर्ण रुपमा आत्मनिर्भर रहेकोले परिस्थिति सहज नभएसम्म बाहिरबाट कुनै प्रकारको माछा मासुु र तरकारीलगायत दूध आयात हुन नदिने बताउँदै आजैबाट नगरका सबै मूख्य बजारको अनुगमन शुरु गरिएको उनले बताए।
 

प्रकाशित मिति: : 2021-05-05 21:23:00

प्रतिकृया दिनुहोस्