अक्सिजनको चरम अभाव पुरा गर्न सरकारलाई महावीर पुनका ६ सुझाव

महावीर पुन

काठमाडौँ

अहिलेको अक्सिजनको चरम अभावको अचुक सामाधान यस्तो हुन् सक्छ:

कोरोनाको दोस्रो लहरमा केही दिनसम्म राष्ट्रिय आविष्कार केन्द्रमार्फत अक्सिजनको खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझेंसम्म अक्सिजनको चरम अभावलाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको छु।

सिलिन्डर संकलन गर्ने निकै प्रयास गर्दा पनि सोचे जति उपलब्धी नभएकोले सोचेको उपाय हो यो। मैले सुझाएको उपाय सँग तपाईं सहमत नहुन पनि सक्नुहुन्छ। छलफल गरौँ र राम्रो उपाय निकालौं।

पहिलो कुरा त कोरोना महामारीको अहिलेको अवस्था भनेको संकटकालीन अवस्था हो। कुनै कल्पना नै नगरिएको संकट आईहाल्यो भने त्यसलाई पार लगाउनको लागि  मौजुदा र प्रचलित चलन, नियम कानून र प्रशानिक तरिकाले काम गरेर  समस्या सामाधान हुँदै हुँदैन।

नेपाल सरकारले अहिले सम्म नबुझेको कुरा यहि नै हो। प्रधानमन्त्रीसहित मन्त्री मण्डलले निर्णय गरेर कोरोना रोकथाम र समस्या सामाधानको लागी मुख्य सचिव र मन्त्रालयका सचिवहरुलाई कडा निर्देशन दिनु हुन्छ। अनि सचिवहरु र विभागीय प्रमुखहरुले सो निर्देशन पालन गर्नको लागी मौजुदा ऎन, नियम कानुन, प्रक्रिया र अभ्यासको आधारमा कदम चाल्छन।

यसरी कदम चाल्दा एक दिनमा हुने काम हप्तौं र महिनौं लाग्दछ। आकस्मिक संकट यसरी समाधान गर्न खोजेर हुँदै हुँदैन। त्यसलाई समाधान गर्ने छुट्टै ऎन, नियम कानुन, प्रक्रिया हुनुपर्छ, जुन प्रक्रिया नेपालमा छंदै छैन। मैले यसो भन्दा दुख नमान्नु होला।

 उसो भए सरकारले तत्कालै चाल्नु पर्ने कदम के हो त ?

१. अहिले कोरोनाको महामारीमा भएको अक्सिजनको चरम अभावलाई समाधान गर्नको लागी सर्वप्रथम राष्ट्रपतिले अध्यादेश द्वारा "कोरोना महामारी रोकथामको लागी आपतकालीन कानुन र प्रक्रिया" भन्ने अध्यादेश ल्याउने। 
२. सोही कानूनमा टेकेर सरकारले भ्रस्टाचार नगर्ने स्वच्छ ब्यक्तिहरुको टीम बनाएर काम सुरु गरिहाल्ने। 
३. अध्यादेश ल्याउन एक दिन लाग्ला र रातारात काम गरेर प्रक्रिया मिलाउन एक हप्ता लाग्ला।
४. अनि नेपाल एयरलाइन्स र हिमालायन एयरलाइन्सका ४ ओटा जहाजहरुमा तीन हप्ता भित्रमा २० हजार वटा खाली अक्सिजन सिलिन्डरहरु तुरुन्तै चीनबाट अथवा अन्य मुलुकबाट ल्याउने। 
५. ति खाली सिलिन्डरहरु अस्पतालहरुमा हाल चलिरहेका प्लान्ट र अन्य अक्सिजन उद्योगहरुलाई तुरुन्तै उपलब्ध गराएर अक्सिजनको चरम अभाव कम गर्ने।
६. यसो गर्न पैसा कहाँ बाट ल्याउने ?- सरकारको विकास बजेटमा खर्च नभएको पैसा र अन्य फजुल खर्चहरु घटायो भने पक्कै पनि पैसाको खाँचो हुदैन। किनभने २० हजार ओटा खाली सिलिन्डर ल्याउने भनेको कुनै महत्वकांक्षी र ठुलो बजेट लाग्ने कुरा होइन। पहिला जनताको ज्यान बचाउन पर्यो।  विकास भन्ने कुरा त्यसपछि गरे पनि हुन्छ। 

प्रकाशित मिति: : 2021-05-06 08:12:00

प्रतिकृया दिनुहोस्