जनप्रतिनिधि हुनु त यस्तो पो 

File photo
File photo

करन ताम्राकार

जनतालाई अप्ठ्योरो पर्दा  जनप्रतिनिधिले कस्तो सहयोग गर्दा रहेछन् भन्ने राम्रो उदाहरण अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखले  प्रस्तुत गरेका छन्। 

जिल्लाका सात स्थानीय तहमध्ये अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र उपप्रमुख संगीता भण्डारीले प्रयोग गर्दै आएका  सवारी साधनलाई कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स प्रयोगमा लगाउने घोषणा गरेका छन्। 

उनीहरुले भने, 'जनताको ज्यान जोगाउनु हाम्रो पहिलो कर्तव्य हो, अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो ध्येय छ। कोरोना नियन्त्रणमा नगरपालिकाले पहिलो प्राथमिकता दिएको छ।' 

नगरप्रमुख, उपप्रमुखले चढ्ने  बोलेरो जीपलाई  नै एम्बुलेन्स बनाउने तथा नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए। 

नगरपालिकाले ११ स्वास्थ्य संस्थामा रहेका ४३ र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत दश नर्सलाई कोरोना सङ्क्रमण नियन्त्रणका लागि परिचालन समेत गरेको छ। 

यसका साथै टोल टोलमा स्वयंसेविका परिचालन गर्दै जनचेतनालाई तीब्रता समेत दिएको छ। सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव हुन नदिन नगरपालिकाबाट चार जना स्वास्थ्यकर्मीलाई पठाउने निर्णय समेत गरिएको छ। 

यसैगरी जिल्ला सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आइसोलेशन सञ्चालन गरिएको छ। हप्तामा तीन दिन नगरपालिकामा स्वाँव सङ्कलनको व्यवस्था मिलाएको नगरपालिकाले जानाएको छ। जिल्लामा ८९६ जना कोरोना सङ्क्रमित छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-06 19:42:00

प्रतिकृया दिनुहोस्